संविधान संसोधनको प्रस्तावमा मतदान गर्न काङ्ग्रेसको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १७ गते १७:१७
संविधान संसोधनको प्रस्तावमा मतदान गर्न काङ्ग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ।

शनिबारको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले बैठकपछि ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव।’  

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमि व्यवस्था , सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।  

प्रकाशित : २०७७ जेठ १७ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI