अछाममा एम्बुलेन्स चालक सहित १० जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते १२:१२
अछाममा एम्बुलेन्स चालक सहित १० जनामा कोरोना संक्रमण
corona

अछाम, जेठ २०गते । अछाममा एकै दिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

यस्तै, चौरपाटी गाउँपालिकाका–२ का ३२ वर्षिया र सदरमुकाम स्थित मङ्गलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाई प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

कुष्कोटको क्वारेन्टाइमा रहेका २० जनाको स्वाब सङ्कलन गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको छ । सोमबार चौरपाटी गाउँपालिका–२ का ३३ वर्षीय व्यक्तिलाई प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण भेटिएको थियो ।

केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख–४, कुष्कोटका बुवाछोरीलाई धनगढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म जम्मा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, अछामले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमित पुष्टि भएका व्यक्तिसँगै क्वारेन्टाइन मा रहेका अन्य व्यक्तिको स्वाब सङ्कलनका लागि ल्याब टेक्निसयिनसहित स्वास्थ्य कार्यालयको टोली चौरपाटी र मेल्लेख गएको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाको नेतृत्वमा चौरपाटी र जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाको नेतृत्वमा मेल्लेखमा टोली गइसकेको सूचना अधिकारी जोशीको भनाइ छ ।

प्रकाशित : २०७७ जेठ २० गते १२:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI