रजहरको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पताल बनाईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते २१:२६
रजहरको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पताल बनाईने

कावासोती । पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पताल बनाईने भएको छ ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा जिल्लाका स्थानीय तहका प्रमुखहरू , गण्डकी प्रदेश सामाजिक बिकाश मन्त्रालय स्वास्थ्य निर्देशनालयका डा. बिनोद बिन्दु शर्मा, तीन वटै सुरक्षा निकायका प्रमुख सहितको बैठकले तत्काल १०० शैयाको कोरोना अस्थायी अस्पताल बुधबार बाट सुरु गर्ने र बिस्तार गरेर ४५० शैया सम्म पुर्‍याउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

कोरोना अस्थायी अस्पताल बनाउन आज बसेको बैठक । तस्बिर मध्यविन्दुका मेयर चन्द्रबहादुर रानाको फेसबुक बाट

चापागाईंका अनुसार अस्पतालमा बुधबार बाट नै जिल्लाका कोरोना संक्रमितलाई सारिने र अब जिल्लामा पिसिआर पोजेटिभ आएका संक्रमितलाई यहि राखेर उपचार सुरु गरिने छ ।

बैठकले अस्पतालका लागि जिल्ला समन्वय समिति मार्फत पचास लाख रकमान्तर गरेर खर्च जुटाउने निर्णय गरेको बैठकमा सहभागी मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले जानकारी दिए ।

पुर्वी नवलपरासीमा अहिलेसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् भने एक महिला निको भइसकेकी छिन् । पाँचजनाको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीनजना मध्ये १ जनाको काठमाडौंमा र दुईजनाको भरतपुर कोरोना बिशेष अस्तालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ जेठ २० गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI