टिचिङमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते १७:१२
टिचिङमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो
corona

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। 

आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा. देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। 

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

बुधबार २ सय १ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको संख्या ९ पुगेको छ । बुधबार १२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको हो। 

प्रदेश १ मा ४८, प्रदेश २ मा १ सय ९, बागमतिमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ। 

प्रकाशित : २०७७ जेठ २१ गते १७:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI