कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते ११:१८
कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडा स्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । 

अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको  भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो  ।

 जेनेभा स्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए ।

 यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यु एच ओ मा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा  डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला  छनोट भएपछि  भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ  ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधिका विषयमा प्रश्न सोधिनुका साथै विभिन्न सहयोगका सम्बन्धमा  समेत छलफल भएको प्रा। गैरेले जानकारी दिए । ‘सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो’ , प्रा गैरेले भने । 


 उक्त खोपको  परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको  छ  । प्रा. डा. दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको  जिकिर गरे । 

प्रकाशित : २०७७ जेठ २३ गते ११:१८
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI