भरतपुरका तीन स्थानमा स्मार्ट शौचालय बन्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १५:०३
भरतपुरका तीन स्थानमा स्मार्ट शौचालय बन्दै

चितवन । भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु गरेको छ ।

भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो । ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालय को शिलान्यास गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा स्मार्ट शौचालयको शिलान्यास गर्नुभएको हो ।

भरतपुर महानगर र प्रदेश सरकारको रु एक करोड २० लाख लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ । स्मार्ट शौचालय सुबिधा सम्पन्न हुने छ ।

पाँचौँ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसँगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले राइनो पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र रु दुई करोड ५० लाख लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिनुभयो ।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासँगै अपाङ्गमैत्रीसमेत हुने महानगरकी आर्किटेक इञ्जीनियर अस्मिता खनालले जानकारी दिनुभयो । उहाँले शौचालय को बाहिरी क्षेत्रमा स्मार्ट कार्डकक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताउनुभयो । लम्बाइ ३३ फिट र चौडाइ २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उहाँको भनाइ छ । रासस

प्रकाशित : २०७७ जेठ २४ गते १५:०३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI