सत्तारुढ दलको घोषणा विपरीत विद्युतीय सवारीमा कर लगाईयो : कंडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २५ गते १५:१०
सत्तारुढ दलको घोषणा विपरीत विद्युतीय  सवारीमा कर लगाईयो : कंडेल

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारी मा लगाइएको औसतमा ११३ प्रतिशत सम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गरे ।

बैठकको प्रारम्भमै कांग्रेस सांसद आफ्नो स्थानमा उभिएपछि सभामुख अग्निप्रसाद सापकोटाले दिएको समयमा सांसद कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाए । ‘यो सत्तारुढ दलकै घोषणापत्र विपरीत हो’, उनले भने ।

यसअघि यही सरकारले विद्युतीय सवारीमा प्रोत्साहन नीति अघि बढाउनु र अहिले विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति भएको उनको भनाइ थियो । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने सांसद कँडेलको धारणा थियो ।

वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले माग गरे ।

नेपालले अन्तर्राष्ट्रिय रुपमा गरेको प्रतिबद्धता विपरीत समेत यो व्यवस्था रहेको बताउँदै उनले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : २०७७ जेठ २५ गते १५:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI