सुन प्रतितोला ८७ हजार ४०० रूपैँया

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ७:३६
सुन प्रतितोला ८७ हजार ४०० रूपैँया

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत चैत ११ गते लकडाउन सुरु भएसँगै स्थगित गरेको सुनचाँदीको दरभाउ निर्धारण कार्य आइतबारबाट पुनः सुचारु गरेको छ। आइतबार बजार खुल्दा सुनको मूल्य प्रतितोला १० हजार रुपियाँले बढेको छ।

आइतबारका लागि सङ्घले तोकेको दरभाउअनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपियाँ रहेको छ भने तेजाबी सुनको मूल्य ८६ हजार ९६० रुपियाँ रहेको छ। त्यस्तै चाँदीको मूल्य ९२५ रुपियाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि २०७६ चैत १० गते कारोबार हुँदा छापावाल सुन प्रतितोला ७७ हजार र तेजाबी सुन प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी ७२० रुपियाँमा कारोबार भएको थियो ।

आइतबार बिहान करिब साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ६८५ डलरमा किनबेच भएको थियो । यद्यपि नेपाली व्यवसायीले भारतीय मूल्यलाई हेरेपछि नेपाली बजारमा मूल्य तोक्ने गर्दै आएका छन् ।

लकडाउनको मोडालिटी केही परिवर्तन हुने अपेक्षा गरिएकाले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका/नगरपालिका/गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य सङ्घको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्नका लागि मूल्य तोक्न थालिएको महासङ्घका प्रवक्ता मनोजकुमार शाहले बताउनुभयो ।

त्यस्तै असारमा विवाहलगायत शुभकार्यका केही साइत रहेकाले व्यवसायीले सुरक्षित रूपमा कारोबार गर्न माग गरेपछि मूल्य तोक्न थालिएको व्यवसायीले जनाएका छन् ।

सुन अन्तर्राष्ट्रिय बजारमा नै महँगिएका कारण तत्काल यसको मूल्य नघट्ने अनुमान व्यवसायीको रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरात्न शाक्यले बताउनुभयो । यद्यपि एकपटक एक हजार पाँच सय डलरमा झर्ला कि भन्ने अनुमान अन्तर्राष्ट्रिय बजारमा रहेको उहाँ बताउनुहुन्छ । यदि त्यो मूल्यमा झरेमा नेपाली बजारमा प्रतितोला ७५ हजार रुपियाँसम्म हुनसक्छ । त्यस्तै एक हजार आठ सयसम्म पुगेमा नेपाली बजारमा ९० हजारभन्दा माथि पुग्ने व्यवसायीको अनुमान छ ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेटमा सुनमा प्रतितोलामा दुई हजार ३३३ रुपियाँ भन्सार कर थपिएको छ । चालू आवमा भने यो दर सात हजार ५८० रुपियाँ कायम रहेको छ ।

प्रकाशित : २०७७ जेठ २६ गते ७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI