बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २९ गते १५:३९
बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो।


काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्ज लगायत देशका विभिन्न ३० सहरमा नागरिक स्तरबाट सरकारको विरोधमा शान्ति पूर्ण प्रदर्शन भयो। प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीका फोहरा र प्रदर्शनकारीलाई तितरबितर पार्दै गैरीधारामा अश्रृग्यास प्रहार गर्‍यो।सरकारले घोषणा गरेको लकडाउनको समयावधि सकिन अझै तीन दिन बाँकी छ। कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेका छन्। बुधबारसम्म ४३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसक्यो। यस्तो अवस्थामा मानिसहरू किन सरकारको विरोधमा सडकमा उत्रिए? प्रदर्शनकारीको नेतृत्व कसले गरेको छ र उनीहरू के चाहन्छन्? सरकारका गतिविधि विरूद्ध प्रदर्शनमा उत्रिएका मध्ये काठमाडौंमा रहेका आलोक सुवेदीले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए।

 ‘यो नागरिकस्तरबाट गरिएको बिल्कुलै गैरराजनीतिक र शान्तिपूर्ण प्रदर्शन हो,’ उनले भने, ‘देशभरका युवाहरू फेसबुकमार्फत् जोडिएर विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।’ सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट युवाहरू फेसबुकमा ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ समूह बनाएर स्वत:स्फूर्त रूपमा प्रदर्शनमा उत्रिएको उनले बताए। उनीहरूको फेसबुक पेजमा बिहीबारसम्म ८८ हजारभन्दा बढी युवा आवद्ध भइसकेका छन्।


प्रदर्शनकारीका माग के छन्?
पोखराकी मोनिकाले आफ्नो भिडिओमा क्वारेन्टिनमा नेपाल सरकार र डब्लुएचओको मापदण्ड अनुसारका सुविधा नभएको र कोरोना संक्रमणको पिसिआर परिक्षण बढाउनु पर्ने बताएकी छन्। हाम्रो प्रदर्शनको उद्देश्य कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएर अघि बढोस् भनेर हो,’ रानाभाटले भनिन्,‘सरकारले गरेको खर्च पारदर्शी हुनुपर्‍यो, क्वारेन्टिन मापदण्डअनुसारको हुनुपर्‍यो।’ 

उनीहरूले प्रदर्शनको नेतृत्व गर्न मौन प्रदर्शन आयोजक समिति गठन गरेका छन्। काठमाडौंको प्रदर्शनमा सहभागी भएका सुवेदीले आफ्ना माग सामान्य देखिए पनि पूरा गर्नेतर्फ सरकारको प्रभावकारी कदम नदेखिएपछि प्रदर्शन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुँदै गएको बताए। 

‘कोरोना परीक्षण सतप्रतिशत नै पिसिआर विधिबाट हुनुपर्छ। जनताका भोटबाट चुनाव जितेका सांसदलाई पिसिआरबाट परीक्षण अनि भोट दिने जनतालाई विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण, किन?,’ सुवेदीले प्रश्न गरे, ‘जनतामाथि विभेद हुनुहुन्न।’

महामारीका बेला जनताको ज्यान जोगाउने कुरा मुख्य भए पनि सरकार गफमा भुलेको उनले बताए। ‘क्वारेन्टिनमा मान्छे कोचाकोच राख्ने? विशेषगरी भारतबाट आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई व्यवस्थित क्वारेन्टिनमा राखिएको छैन किन?,’ उनले प्रश्न गरे।  सरकारले कोरोना संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टरलाई पर्याप्त मात्रामा पिपिईलगायत अत्यावश्यक सामग्री उपलब्ध नगराएकोले पनि ध्यानाकर्षण गराउनु आवश्यक रहेको उनले बताए। यतिका भद्रोगोलका बीच सरकारले कोरोना नियन्त्रण मा दश अर्ब खर्च भइसकेको बताएको छ। 


‘दश अर्ब केमा खर्च भयो? हामीलाई पारदर्शी ढंगले हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। प्रदर्शनमा उत्रिएकाहरूको एउटा मुख्य माग यो पनि हो,’ सुवेदीले भने,‘जनताको पीडा एकातिर छ। खान पाएका छैनन्। किट अभावले परीक्षण रोकिएको छ। परीक्षण मेसिन छैनन्। सचेत युवा सरकारका ठूला कुरा र गफ सुनेर बस्न सक्दैन। त्यसैले लकडाउनबीच पनि सामाजिक दूरी अपनाएर विरोध प्रदर्शन गर्नुपर्‍यो।’ प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति पनि नागरिकहरू लाई सडकमा उत्रिनु बाध्य पारेको उनले बताए।


बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी भएको दाबीसहित त्यसो हुनुमा लसुन, प्याज, अदुवालगायत औषधिजन्य सन्तुलित आहारबिहार भएको उल्लेख गरेका थिए।
बिहीबार चितवनको प्रदर्शनमा प्रधानमन्त्रीप्रति व्यंग गर्दै प्रदर्शनमा उत्रिएकाले यस्तो प्लेकार्ड बोकेका थिए जसमा लेखिएको थियो- नो पिसिआर, नुन तेल बेसार, कोरोनाको उपचार: डा. केपी ओली! यस्तै प्रधानमन्त्रीले संसदमा कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भएकोमा अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए। प्रदेश १ को विराटनगरमा पनि सरकारविरूद्ध प्रदर्शन भएको छ।

हातमा प्लेकार्ड र राष्ट्रिय झन्डा बोकेका युवाले सामाजिक दूरी कायम गरी सडकमा बिहीबार प्रदर्शन गरेका हुन्। केन्द्र, प्रदेश र स्थानीय तहबाट भएका खर्च पारदर्शी हुनुपर्ने माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएका हुन्। युवाहरूले घोघापुलदेखि रोडशेष चोकसम्म मार्च पास पनि गरे। पोखरामा भएको प्रदर्शनको अन्त्यतिर राष्ट्र बैंक चोकमा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत भएको थियो। नाराबाजीपश्चात प्रदर्शनमा उत्रिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मौन प्रदर्शन आयोजक समितिले भने नारा बाजीमा आफूहरूको संलग्नता नरहेको उल्लेख गरेको छ।

‘मौन र शान्तिपूर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आवद्ध केही युवाले गरेको अभद्र व्यवहारको हामी घोर निन्दा गर्दछौं,’ समितिले विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रमको मापदण्ड विपरित कार्य गर्ने युवाहरुको आयोजकसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँछौं।’

प्रकाशित : २०७७ जेठ २९ गते १५:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI