वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते १३:०१
वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि
corona

बिहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पाेजिटिभ देखिएको छ। बिहीबार वीरगञ्जको घण्टाघरछेउमा मृत्त फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएका बारा जिल्लाका पाँच वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना पाेजिटिभ देखिएको हो। योसँगै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्जको घण्टा घरछेउमा मृत फेला परेका अन्दाजी २५ वर्षका पुरुषको शुक्रबार राती १० बजे पीसीआर परीक्षण पाेजिटिभ आएको र बाराका पाँच वर्षीय बालकको शनिबार बिहान पीसीआर परीक्षण पाेजिटिभ आएको हो ।

वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ्ग स्थलमा बिहीबार फेला परेको शवबाट बिहीबार नै स्बाव सङ्कलन गरी परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । परीक्षणपछि शुक्रबार राती १० बजे उक्त शवमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनुभयो ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा बाराको निजगढका पाँच वर्षीय बालकलाई निमोनियाको समस्या देखिएपछि भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारको क्रममा ती बालकको शुक्रबार मृत्यु भएपछि स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच, पर्सामा एक ३ वर्षीय बालक र एक महिलासहित थप पाँच जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिकाको कुम्हालटोलका २ जना ,पर्साकै सखुवाप्रसौनी क्वारेन्टाइनमा रहेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ कोरोना पुष्टि भएका पाँच जनामा एक जना तीन वर्षीय बालक, एक जना १५ वर्षीय किशोर, एक जना ३० वर्षीया महिला र २ जना पुरुष रहेको वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ जेठ ३१ गते १३:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI