प्राकृतिक चिकित्सालयको आईसोलेशनमा भेन्टिलेटर अत्यावश्यक

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते १७:५९
प्राकृतिक चिकित्सालयको आईसोलेशनमा भेन्टिलेटर अत्यावश्यक

घनश्याम बगाले, नवलपुर

पूर्वी नवलपरासीको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयको आईसोलेशनमा भेन्टिलेटर अत्यावश्यक भएको छ। चिकित्सालयमा आईसियु तथा भेन्टिलेटर नहुँदा विरामीलाई समस्या आउने वित्तिकै कहां लैजाने भन्ने स्थिती पैदा भएको यसका संचालकहरु बताउछन्।

जिल्लाका विभिन्न भागबाट पठाईएका ३१ कोरोना संक्रमितहरुलाई उपचारर्थ राखिएको यस चिकित्सालयको आईसोलेशनमा १ सय  वेड रहेको छ। समुदायबाट संचालित यस चिकित्सालयमा कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत २ जना चिकित्सक सहित २५ जनाले सेवा दिईरहेकाछन्।

जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रमा गरी ९ आईसोलेशन बेड रहेको पूर्वी नवलपरासीमा कोरोना संक्रमित थपिँदा प्राकृतिक चिकित्सालयले थप आइसोलेशनको सुविधा दिएको छ। प्राकृतिक चिकित्सा पद्धतीमा ८० विरामी भर्ना गरी सहज उपचार सेवा दिईरहेको यस चिकित्सालयमा कोरोनाको जोखिम बढ्दै जादा ति विरामीहरु घर फर्किएका थिए ।

आधुनिक सुविधा सम्पन्न भवन र भौतिक पूर्वाधार सहित संचालित यस चिकित्सालयलाई जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय पालिकाको अनुरोधमा यहांको ब्यवस्थापनले आईसोलेशन संचालनार्थ अनुमति दिएको थियो । यस चिकित्सालयमा आईसोलेशन वनाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले अनुगमन गरी उपयुक्त ठहर गरे पछि यहां कोभिड १९ पोजेटिभहरुलाई भर्ना गरी उपचार थालिएको हो ।

चिकित्सालयमा हाल अभाव देखिएको अत्यावश्यक भेन्टिलेटर र आईसियु सुविधाका लागि संघीय सरकार या स्वदेशी तथा विदेशी दातृ निकायले सहयोग गरेमा यहां रहेका विरामीलाई सहज हुने ब्यवस्थापक हरी प्रसाद सापकोटा बताउनुहुन्छ। भारतसंग सिमा जोडिएको यस जिल्लामा विदेशबाट आउने कतिपयमा कोभिड १९ देखिए पछि जिल्लाकै पहाडी तथा तराई क्षेत्रका कोरोना पोजेटिभ लाई यहां राखिएको छ।

गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु जिल्ला अस्पताल र यहांका सवै स्थानीय निकायहरुको सहयोग रहेको यस चिकित्सालयलाई प्राकृतिक तथा प्यारामेडिक दुवै प्रकारले सुविधायुक्त बनाउनु आवश्यक देखिन्छ ।

चिकित्सालय ब्यवस्थापन समितिका सचिव प्रदीप राज घिमिरेले समुदाय स्तरबाट स्थापित यस अस्पतालमा हालको महामारी बाट बच्न आईपरे करिव ४ सय वेड सुविधाको आईसोलेशन बनाउन सकिने बताउनुभयो।

कोरोना संक्रमणका विरामी बढ्दै जादा नजिकको भरतपुर तथा प्रदेशकै कोरोना अस्पताल पोखराले थेग्न नसकेका विरामी यस चिकित्सालयमा राख्नु पर्ने स्थिति बन्दै गएको छ ।

कोभिड १९ को विश्वब्यापी लक्षण विरामीमा देखिने स्वास प्रस्वासको समस्या संगै जटिल अवस्थामा विरामी पुगी हालेमा आईसीयु र भेन्टिलेटरकै अभावमा विरामीको ज्यान नजाओस भनि सार्वजनिक सहयोगको अपेक्षा गरिएको हो। देशमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागिपरेको राज्यले समुदायबाट संचालित यस चिकित्सालयको आवश्यकतालाई वेलैमा सम्वोधन गरि दिए जनताको हितमा सह्रानीय कार्य हुने स्थानीयहरु बताउछन् ।

चिकित्सालय ब्यवस्थापनले भेन्टिलेटर सहितको सघन उपचार कक्ष  निर्माण र कोभिड विरामी उपचारका लागि हालै स्थानीय कृषि विकाश बैंकमा खाता खोली कोष स्थापना गरेको छ। कृषि बिकास बैँक रजहर शाखामा खोलिएको ०४१५१००६३०६०००३० नम्वर खातामा चिकित्सालयको विकास र कोरोना विरामीको उपचारमा आर्थिक सहयोग गर्न सकिने बताईएको छ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय बाट कोभिड १९ अस्थाई अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको यस चिकित्सालय जिल्लाकै पायक पर्ने स्थानमा रहेको छ । कोरोना अस्थाई अस्पतालमा विकसित यस चिकितसालयमा आईसोलेशन वार्ड विस्तार र विरामी उपचारर्थ जिसस नवलपुरले ४० लाख तथा जिल्लाका ८ स्थानीय तहले २० लाख रुपैयां उपलब्ध गराउने भएकाछन्।

यसै बिच गण्डकी प्रदेश सरकारले कोभिड १९ को विश्वब्यापी महामारीमा संक्रमितहरुको उपचार र आईसोलेशनका लागि स्थानीय नगरपालिका मार्फत १० लाख रुपैयां उपलब्ध गराएको बताईन्छ। अस्पताललाई आवश्य औषधोपचार सामाग्री र १ चिकित्सक सहित केही स्वास्थ्यकर्मी जिल्ला अस्पताल नवलपुर, स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले उपलब्ध गराउदै आएको छ ।

प्रकाशित : २०७७ जेठ ३१ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI