संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते १८:०५
संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

संविधानको निसाना छापमा रहेको नक्सा संशोधनका लागि सरकारले दर्ता गराएको संविधानको दोस्रो संसोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। संशोधनको पक्षमा कुल २५८ मत परेको छ भने विपक्षमा शून्य मत परेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका छन्। 

प्रतिनिधिसभाले संविधानको अनुसूची ३ को व्यवस्था संशोधनका लागि प्रतिनिधि सभामा पेश गरेको थियो। सरकारले प्रस्तुत गरेको संशोधनमा शनिबार छलफल गर्दै पारित गरेको हो।

संशोधनको विपक्षमा एकमत पनि नपर्दै सो प्रस्ताव पारित भएको हो। सबै दलका उपस्थित सांसदहरु संशोधन प्रस्तावको छलफलमा सहभागी भएका थिए। तर सरिता गिरी भने छलफलमा सहभागी भइनन्। 

छलफलपछि कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले छलफलमा उठेका प्रश्नमा जवाफ दिएकी थिइन्। उनको जवाफपछि सभामुख अग्निसापकोटाले संविधान संशोधनको प्रस्तावलाई अङ्ग बनाउने प्रक्रिया पूरा गरेका थिए। प्रक्रियामा सबैको सहमतिपछि पुनः कानुनमन्त्रीलाई सभामुखले पारित गरियोस् भन्ने प्रस्ताव राख्ने अनुमति दिएका थिए।

उनको अनुमतिपछि सभामुखले मत विभाजन प्रक्रिया शुरु गरेका थिए। उनले विभाजन घन्टी बजाउँदै हस्ताक्षरका लागि तयार रहन भनेका थिए। सचिवालयका कर्मचारी यसअघि नै हस्ताक्षर संकलनका लागि तयारी अवस्थामा रहेका थिए। सभाकक्षका सबै ढोका बन्द गरेपछि मत संकलन गरिएको थियो।

प्रस्ताव राष्ट्रियसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिले प्रमाणित गरी राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको प्रक्रिया पूरा हुने छ भने नेपालको नयाँ नक्साले ‍औपचारिक रूपमा नै मान्यता समेत पाउनेछ। 

प्रकाशित : २०७७ जेठ ३१ गते १८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI