भरतपुरको कोरोना अस्थाई अस्पताल बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते ६:३१
भरतपुरको कोरोना अस्थाई अस्पताल बन्द

निर्णय भएको ७२ घण्टामा नै तयार भएको भनेर चर्चामा आएको भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल मंगलबारदेखि बन्द भएको छ । भरतपुर अस्पतालले मंगलबार प्रेस विज्ञप्ती निकालेर अस्पताल बन्द गरिएको जनाएको हो ।

उक्त अस्पतालमा संक्रमित बिरामीहरु सुत्ने बेडमुनि बाथरुमको पानी बग्‍न थालेको थियो । अस्पतालमा भर्ना भएका संक्रमितहरुले नै भिडियो सार्वजनिक गरेर बेडमुनी पानी बग्‍ने गरेको दृश्य देखाएका थिए ।

अस्पतालले निकालेको विज्ञप्तीमा यो विषयमा केही बोलिएको छैन । त्यहाँ रहेका चारजना संक्रमित डिस्‍चार्ज भएको, भर्ना भएका अन्य १८ जना संक्रमितलाई शनिबार र आइतबार भरतपुरको सरकारी अस्पतालमा सारेपछि उक्त कोरोना विशेष अस्थायी अस्पताल बन्द गरेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने विज्ञप्तीमा जनाइएको छ ।

‘संक्रमितहरु रहेका कारण पहिला सुरक्षाका लागि अस्पताल निर्मलीकरण हुनु पर्दछ । त्यसपछि प्राविधिकहरु ल्याएर देखाउँछौं । प्राविधिकहरुले के भन्नु हुन्छ हेरौं, नभए तत्कालका लागि अस्पताल बन्द भएको हो,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भने ।

गत वैशाखदेखि उक्त अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालले हेर्दै आएको थियो । भरतपुरमा चितवन उद्योग संघले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रमा कोरोना विशेष अस्थायी अस्पताल तीन महिनाका लागि भनेर उपलब्ध गराएको डा.तिवारीले बताए । ‘मुख्य कुरो कोरोनाको उपचार गराउन आएका र उपचार गराउने चिकित्सकहरुका लागि सबै कुराले त्यहाँको पूर्वाधार उपयुक्त भए नभएको अब प्राविधिकहरुले निर्क्यौल गरेपछि बल्ल अरु निर्णय हुन्छ,’ डा.तिवारीले भने । पूर्वाधार र मर्मतका लागि लाग्ने खर्च र खर्चको स्रोतका विषयमा सर्वपक्षीय भेला राखेर निर्णय गर्नुपर्ने अवस्था आएको डा.तिवारीले बताए ।

कोरोनाको उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गत चैतमा जिल्लाका सरकारी, शिक्षण र निजी अस्पताललाई सबैमा कम्तीमा ७० बेडको आइसोलेसन वार्ड बनाउन भनेको थियो । लगत्तै भरतपुर महानगरपालिकाको संक्रियतामा जिल्लाका अन्य अस्पताल र निजी क्षेत्र भेला भएर भरतपुर क्षेत्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय गरेका थिए ।

उक्त निर्णय भएको ७२ घण्टाभित्रै चैत ७ गते अस्थायी अस्पताल तयार भएको थियो । चैत १९ मा यो अस्पतालको व्यवस्थापन भरतपुर अस्पताललाई जिम्मा लगाउने निर्णय भएको थियो । अस्थायी अस्पतालबाट हालसम्म २८ जना संक्रमितको उपचार भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७७ असार ३ गते ६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI