कोरोना संक्रमणबाट विदेशमा १३० नेपालीको मृत्यु, १७ हजार ७९२ संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ७ गते ११:२६
कोरोना संक्रमणबाट विदेशमा १३० नेपालीको मृत्यु, १७ हजार ७९२ संक्रमित

काठमाडौं  । कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा १३० नेपाली को ज्यान गएको छ । यो साता विदेशमा रहेका थप तीन नेपालको कोरोनाका कारण मृत्यु भएको छ ।

गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप तीन नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । योसँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० जना पुगेको हो ।

यो साता मृत्यु भएका तीनै जना कतारमा कार्यरत नेपाली रहेको संघले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

डेनमार्क , नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड,  क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यही साता अफ्रिकी मुलुकमा रहेका चार नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको संयोजक डा. सापकोटाले जानकारी दिएका छन् । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिएका छन् ।

तीन हजार बढी नेपाल फर्किए
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन देखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्र बनिरहेको छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

४० जना नेपालीको शव नेपाल ल्याइयोयता यहि साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ । यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित : २०७७ असार ७ गते ११:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI