आयुर्वेद र योग औषधि हुन्, मेथी, मरिच र अदुवाको मजाक नउडाऊँ : प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ७ गते ११:५३
आयुर्वेद र योग औषधि हुन्, मेथी, मरिच र अदुवाको मजाक नउडाऊँ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्।  अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे। विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउनुपर्ने बताउँदै आएका छन्।  प्रधानमन्त्री ओलीले भने, “मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए। म उहाँहरूलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरूप्रति यसरी मजाक नउडाऊँ। आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।” नेपाल योगको जननी भएको उल्लेख गर्दै उनले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेको बताएका छन्।  “व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ”, प्रधानमन्त्रीले भने, “मानव जातिको सर्वोपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।” सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योगाभ्यासक्रम’ पुस्तकको लोकार्पण गरेका छन्।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योगाभ्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योगाभ्यासक्रमको प्रकाशनले योगलाई जीवनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए। कार्यक्रममा  योगगुरु डा. हरिप्रसाद पोखरेल, नायक निखिल उप्रेती, साधक सोनाम साथीलगायतले योगको व्यापकताका लागि आग्रह गरे। रासस

प्रकाशित : २०७७ असार ७ गते ११:५३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI