असार २२ र २३ गते भिटामिन ‘ए’ खुवाईँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ८:०५
असार २२ र २३ गते भिटामिन ‘ए’ खुवाईँदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २२ र २३ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ ।

यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस्तै, बालभिटा कार्यक्रम लागु भएका ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी दिए । यसअघि गत २ र ३ कात्तिकमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पहिलो चरणको कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत पहिलो चरणमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि उपलब्ध गराइएको थियो । यस्तै, ६ देखि २३ महिनाका बालबालिकाभलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गरिएको थियो । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न भिटामिन ए कार्यक्रम महत्वपूर्ण मानिन्छ ।

प्रकाशित : २०७७ असार १२ गते ८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI