कोरोनाको औषधि बनाएको दाबीले दाउमा लागेको रामदेवको साख

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ८:३७
फायल फोटो

बाबा रामदेवसँग योग छ, जसमाथि कहिल्यै सवाल उठेन। योगलाई लिएर उनको योगदान उल्लेखनीय छ। तर, रामदेवको पतञ्जलीका धेरै उत्पादन यस्ता छन्, जुनमाथि कहिल्यै सवाल नउठेको होस्। यति मात्रै होइन, ती सवालको जवाफ समेत सन्तोषजनक कहिल्यै रहेन। तर, मान्छेहरु सवाल बिर्सिन्छन् र रामदेवको पछि लागेर उत्पादनहरु प्रयोग गरिरहन्छन्। 

योग नै हो, जसले रामदेवलाई ख्याति मात्रै दिलाएन, अन्य उत्पादनका लागि उनी आफैं ब्रान्ड बने। पतञ्जली पनि योगसँगै जोडिएको नाम हो। यदि रामदेव अरु कुनै नाम राख्थे भने पनि रामदेवका कारण आँखा बन्द गरेर मान्छेहरु भरोसा गर्थे नै। सत्य यही हो कि पतञ्जलीका उत्पादन रामदेवको अनुहार हेरेर जो पनि किनिरहेको छ। 

दुर्भाग्यवश बाबा रामदेवले अहिलेसम्म कुनै त्यस्तो उत्पादन बनाएनन्, जुन योगमा जस्तै सवालरहित होस्। कुनै समय नुडल्स र जिन्सका कट्टर विरोधी थिए रामेदव आफैं। तर, उनी आफैं त्यही किन बेच्न थाले हालसम्म बुझिएको छैन। बुझ्न त यो पनि सकिएको छैन कि रामदेवले ‘किम्भो’ नामक एप ल्याउनुका पछाडि कस्तो सोच रह्यो होला?

कोरोना भाइरसको औषधि ‘कोरोनिल’जस्ता उत्पादन भारत मात्रै किन पूरा दुनियाँले आवश्यकता महसुस गरिरहेको छ। यो त्यस्तो चिज हो, जुन अरु त अरु रामदेवकै विरोधी पनि बिना सोचविचार दौडेर लिएर आउँथे। जब जिन्दगी दाउमा लाग्छ, बाँकी सबथोक गौण भइदिन्छन्। तर, दुर्भाग्य यस्तो छ कि कोरोनिललाई लिएर रामदेवले हालसम्म आर्जन गरेको साख नै दाउमा लागेको छ। 

रामदेवको दाबी गलत ठहरियो भने?
मौजुदा मोदी सरकार योग र आयुर्वेदलाई मेडिकल साइन्सको समानान्तर मूलप्रवाहमा ठाउँ दिनका लागि कुनै कसुर बाँकी नराखेर लागिरहेको छ। मोदी सरकारको आयुष मन्त्रालय योग र आयुर्वेदका साथसाथै युनानी र  होमियाप्याथीसम्मलाई संरक्षण दिने सायद दुनियाँकै एक्लो सरकार होला। 

मोदी सरकारकै आयुष मन्त्रालयले नै रामदेवको यो औषधिमाथि छानबिन गर्ने विषयभन्दा ठूलो त्रासदी के होला र? यो फरक कुरा हो कि पतञ्जलीका तर्फबाट आचार्य बालकृष्ण दाबी गरिरहेका छन्– यो सब कम्युनिकेसन ग्यापको कारणले भइरहेको छ। तर, यो मामला उनले दाबी गरेजत्ति मात्रै चाँहि होइन।

बाबा रामदेवले भारतका घरघरमा योग पुर्‍याए भने प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै विश्वमा। यसकारण संसार २१ जुनमा योग दिवस मनाउँछ। संयुक्त राष्ट्र संघबाटै योग दिवस घोषणा गर्ने कुरामा मोदीको भूमिका महत्वपूर्ण छ। 

योभन्दा गज्जबको कुरा के छ भने रामदेवको कम्पनीले कोरोना भाइरस जस्तो महामारीका लागि औषधि बनाइरहेको छ। तर यसको जानकारी न केन्द्र सरकारलाई छ, न प्रधानमन्त्री मोदीलाई। यो आफैंमा ठूलो सवाल हो। 

आयुष मन्त्रालयले होमियोप्याथीको आर्सेनिकम एल्बम नामको औषधि कोरोनाबाट जोगाउनका लागि प्रयोग गर्न सकिने भनेको हल्ला सुरुमा आएको थियो तर त्यो पनि औपचारिक रुपमा आएन। आयुष मन्त्रालयले कोरोनालाई लिएर अनुसन्धान गर्ने प्रस्ताव गर्दा समेत आलोचना भएको थियो। मन्त्रालयले रोग प्रतिरोधि क्षमता विकास गर्ने उपाय चाहिँ सिफारिस गरेको छ तर हालसम्म कुनै औषधिका बारेमा बोलेको छैन।

केन्द्र सरकारको स्पष्ट निर्देशन पनि छ- कसैले कोरोना भाइरसको औषधि बनाएको भन्दै प्रचारप्रसार गर्न पाउँदैन। तर, सवाल यो हो कि रामदेवले कसरी यस्तो दावीका साथ औषधि बजारमा ल्याए?

रामदेवको दाबी छ कि ट्रायलको समयमा तीन दिनभित्र ६९ प्रतिशत कोरोना भाइरस पोजिटिभहरु नेगेटिभ भए। ट्रायलकै समयमा ७ दिनमा शतप्रतिशत नेगेटिभ भए। साँच्चिकै यस्तै हुँदो हो त दुनियाँका लागि यो चमत्कारभन्दा कम हुँदैनथ्यो। यो त रामवाण उपाय हुन्छ। अर्को तरिकाले भन्दा यो सञ्जिवनी बुटी नै हो। तर अफसोस कुरा यस्तो होइन। 

भारतको डिजास्टर म्यानेजमेन्ट एक्ट, २००५ अनुसार यदि कोही गलत दाबी गर्छ भने त्यो दण्डनीय अपराध हो। कोरोनालाई लिएर रामदेवले औषधि बनाएको दाबी गलत भयो भने यही कानुनको उलंघन हुनेछ। यस्तो अपराधका लागि एक वर्षदेखि ७ वर्षसम्मको जेल सजायँसमेत हुन सक्छ।

केन्द्र सरकारको आयुष मन्त्रालयले मात्रै होइन, उत्तराखण्ड  सरकारको आयुर्वेद ड्रग्स लाइसेन्स प्राधिकरणले पनि बाबा रामदेवको औषधिमाथि सवाल उठाएका छन्। प्राधिकरणका डेपुटी डाइरेक्टर यतेन्द्र सिंह रावतका अनुसार बाबा रामदेवको कम्पनी पतञ्जलीलाई औषधि बनाउन होइन, इम्युनिटी बुस्टर र खोकीको औषधि बनाउन लाइसेन्स दिइएको थियो। उनलाई समेत सञ्चारमाध्यमबाट कोरोनाको औषधि बनाइएको जानकारी भएको हो। 

रामदेव पटक–पटक यस्तो दाबी गर्छन् किन?
क्यान्सरदेखि होमो सेक्सुआलिटीसम्मको उपचारको समय–समयमा दाबी गरिसके रामदेवले। रामदेवको पतञ्जली नुडल्स पनि गुणस्तर जाँचमा फेल भइसक्यो। तर, पतञ्जलीले भन्ने गरेको ‘कम्युनिकेसन ग्याप’ भने जसोतसो भइदियो होला! 

एक मिडियारिपोर्टका अनुसार पतञ्जलीका ४० प्रतिशत उत्पादन उत्तराखण्डको आयुर्वेद र युनानी विभागका तर्फबाट गरिएको गुणस्तर मापनमा खरो उत्रिन सकेनन्। हिन्दूस्तान टाइस्मको रिपोर्टअनुसार सन् २०१३ देखि २०१६को बीचमा लिइएको पतञ्जलीका ८२ स्याम्पलमा ३२ उत्पादन गुणस्तर जाँचमा फेल भए।  

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न दुई वर्ष पहिले रामदेवले एउटा म्यासेजिङ एप सार्वजनिक गरेका थिए– किम्भो। नाम त गज्जबको राखिएको थियो तर यसलाई केही घन्टामै गुगल प्लेस्टोरबाट फिर्ता लिनुपर्‍यो। 

३० मे २०१८ लन्च गर्ने समय बाबा रामदेवले भारतको नाम फैलाउने कोशिस गरे। तर, किम्भोको प्रयोगकर्ताको डाटा सुरक्षाको सवाल उठ्यो। यो प्रयोग गर्नेको निजी जानकारी जोसुकैले सजिलै प्राप्त गर्न सक्छ। सबैभन्दा नरमाइलो कुरा त के थियो भने बन्द भइसकेको एक अमेरिकी कम्पनीले निर्माण गरेको ‘बोलो’लाई नै ‘किम्भो’का रुपमा प्रस्तुत गरिएको थियो।

(आइचोकमा प्रकाशित सामग्रीबाट अनुवादित)

प्रकाशित : २०७७ असार १२ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI