कोरोना-कहर, भर्चुअल भेला र ह्याकरको ‘खेला’ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते १०:२९

चेतनाथ कणेल “हरित”

तीन महिनाअघि अर्थात् २०७६ चैतको पहिलो हप्ताको समय र यो २०७७ मध्य असारको समयमा कति धेरै अन्तर आएको छ! त्यो बेला नेपालमा कोरोना आएकै छैन भनेर गर्व गर्दै हामीले पत्रिकामा लेख्यौँ,  रेडियो-टिभीमा बोल्यौँ, सामाजिक सञ्जालका भित्ता पनि रङ्गायौँ। यी पंक्ति लेख्दै गर्दा (असार १४) कोरोना कहर नेपालका सातै प्रदेशका ७७ जिल्लामा नै पुगेको छ। असार १२ गते रातिसम्म पनि हामी हालसम्म ७६ जिल्लामा पुगेको छ र, रसुवा जिल्ला अछुतो छ भनेर गर्व गरिरहेका थियौं। तर त्यहाँ असार १३ गते एकै दिन ९ जनामा कोरोना पोजिटिभ देखिएपछि नेपालका सम्पूर्ण, अर्थात् ७७ जिल्ला नै कोरोनापीडित बन्न पुगेका छन्। अब पूरै देश बिरामी परेको छ कोरोना-कहरबाट। अब पनि हामीले नचेते कहिले चेत्ने?

तर चेत्ने काम कम भएको छ। अचम्म भएको छ, हामीले विस्तारै लापर्वाही बढाएका छौं। कामविना गाँस, बास, कपास रोकिएका सामान्यजन वा श्रमिकवर्ग बाध्य भई काममा निस्कनु, उद्यम–व्यापारमा निस्कनु हामी सबैका लागि सह्य होला, तर केटाकेटीहरूलाई स्वतन्त्र घुम्न पठाएर अभिभावक आनन्द महसुस गर्दैछन्, युवायुवती पार्क र चौरमा घुम्न पाएकोमा मख्ख छन्। व्यक्तिगत (सामाजिक) दूरी कायम गर्नुपर्छ भन्ने कुरा सरकारलाई नै छोडिदिएजस्तो छ, मास्क लगाउनुपर्छ भन्ने अनुरोध पनि सञ्चार माध्यमलाई नै छोडिदिएजस्तो छ, अनि भीडभाडमा जान पाउँदा र नियम मिच्न पाउँदा कतिपयले सत्तामाथि विजय हासिल गरेको अनुभूति गर्दैछन्। हुँदाहुँदा कतिपय विद्यालयका चौरमा पनि शिक्षक र विद्यार्थीको खेलकुद चलिरहेको छ। कसैले मास्क लगाएको पनि देखिँदैन। अन्य सामान्य भौतिक दूरीजन्य नियम पनि ख्याल गरेको देखिँदैन।

यही बेलामा नेपालमा आन्तरिक यातायातको चहलपहल बढ्दो छ। काठमाडौं उपत्यकामा आउनेको संख्या अत्यधिक बढेको छ र “टेस्ट” र ‘क्वारेन्टाइनका कुरा पनि बेवास्तामा छन्। घर, टोल, छिमेकमा के–कस्तो प्रभाव पर्ला भन्ने कुरा पनि कसैले वास्ता गरेको देखिँदैन। ‘आफ्नो मान्छेलाई कोरोनाले छुँदैन, कोरोना भनेको अरुलाई मात्र लाग्ने चीज हो भन्ने भावना सबैमा पलाएजस्तो छ। हामीले अब आँखा चिम्लेकै हो? जे पर्ला, सोही टर्ला भन्दै मनलागी गर्न थालेकै हो?

खुकुलोपनको दुरुपयोग र आइपर्न सक्ने भयावहता

खासगरी यो दुई तीन हप्तामा हामी अलि बढी उग्र देखिएका छौं। ‘केही खुकुलो भयो भनेर सरकारले भन्नासाथ पूर्ण खुल्यो भन्ने भावना धेरै व्यक्तिमा पलाएको देखिन्छ। तर यसले ल्याउने कोरोना-उग्रता र व्यग्रता कति भयावह हुने भनेर कल्पना गर्न पनि गाह्रो छ। असार १४ सम्म करिब साढे दुई दर्जनले कोरोनाका कारण ज्यान गुमाए, करिब १३ हजार जना संक्रमित छन्। र, संक्रमणको दर दैनिक ५ देखि ७ सयसम्मका दरले फैलिँदो छ। ख्याल नगरिएमा अझ बढोत्तरी हुने डर छ।

सबैलार्ई थाहा छ, विश्वव्यापी महामारी (प्यान्डेमिक) बनेको कोरोनाले विश्वलाई यतिबेला नराम्ररी थर्काएको छ। विश्वका २१५ भन्दा बढी देश संक्रमण र पीडामा छन्। चीनको उहान सहरबाट सन् २०१९ को डिसेम्बर महिनादेखि सुरु भएको कोरोना (कोभिड–१९) ले यो ६ महिनामा धेरै वितण्डा मच्चाएको छ। जुन २८ तारिखसम्ममा विश्वभर संक्रमित हुने १ करोड नाघे, ज्यान जानेको संख्या पनि ५ लाख पुग्यो। छिमेकी मुलुक भारतमा समेत ५ लाख संक्रमित भइसके। यो संख्या दैनिकरूपमा खहरे खोलाझैं उर्लँदो छ। यी तथ्य–तथ्याङ्कले मात्र पनि हामीलाई तर्साउँछन्। अझ विश्व स्वास्थ्य संगठनले भनिसकेको छ, स्थिति अझ भयावह हुनसक्छ, जनक्षति अझ धेरै हुनसक्छ, प्रभाव लामो समयसम्म रहिरहन सक्छ । कतिपय खुलेका सहर पनि फेरि बन्द हुन थाल्नु भनेको विश्वका लागि राम्रो अवस्था होइन। हामीले पनि ती पाठ सिक्नैपर्छ। उहान, लाम्बार्दी, न्युयोर्क, लन्डन, मुम्बै, दिल्ली आदि सहरबाट विश्वले कोरोना–पाठ सिक्नैपर्छ।

नेपालमा पनि बढोत्तरी यही स्थिति रहेमा केही हप्ताभित्रमा करिब ४० हजार व्यक्ति संक्रमित हुने आशङ्का विज्ञहरूले नै गरेका छन् । अझ २०७७ फागुनसम्म ७०-८० हजार पुग्न सक्ने भनेर प्रधानमन्त्रीलगायत केही मन्त्रीहरूले अभिव्यक्ति दिँदै सबैलाई सजग बनाएकाछन् । तर ती अभिव्यक्तिपछि पनि कसैमा सजगता होइन, बेवास्तापन बढ्दो छ। हुँदा खानेले बाध्यतामा केही बेवास्ता गर्नु अर्को कुरा, तर हुनेखानेले पनि विना विशेष उद्देश्य कोरोना आचार-संहिताको बर्खिलाप गरिरहेको देखिन्छ। यसमा चेतनाको अभाव भन्न मिल्दैन, निस्फिक्रीपन र फुक्कापनको प्रदर्शन हो । स्व-महसुस र नियम-पालनको कमी नै हो । केही मात्रामा बडप्पनको प्रदर्शन पनि हो। हामी सबैलाई चेतना भया! 

भर्चुअल भेला र ह्याकरको खेला!

यति हुँदाहुँदै पनि हाम्रा विद्यालयका कोठाहरू भने खाली नै छन्। विद्यालय सञ्चालक, शिक्षक, अभिभावक र विद्यार्थीले सरकारी नियम अवज्ञा गरेका छैनन्। कक्षा कोठामा विद्यार्थी बोलाएर कक्षा चलाउने अवस्था नआउँदासम्म विद्यार्थीले दूरशिक्षाबाटै अर्थात् ‘भर्चुअल भेला-बाटै आफ्ना नियमित कक्षा लिइरहनुपर्ने अवस्था आएकोलाई सबैले राम्रोसँग महसुस गरेका छन्, पालना गरेका छन्। शिक्षक र अभिभावक बैठकसमेत भर्चुअलबाट सम्पन्न हुने गरेका छन्। सरकारी विद्यालयले पनि आफ्ना विद्यार्थीहरूलाई विस्तारै रेडियो, टिभी, अफलाइन, अनलाइन आदि विधि अपनाएर शिक्षा ग्रहणका प्रक्रियामा अभ्यस्त बनाउँदैछन्। अड्कोपड्को तेलको धूप भनेझैं चालु शैक्षिक वर्षको करिब आधा अवधि (दशैँसम्मर) विद्यार्थी भाइबैनीहरूले भर्चुअल शिक्षामा चित्त बुझाउनुपर्ने स्थिति छ । हरेक व्यक्ति दैनिकरूपमा आईसीटीसँग परिचित र अभ्यस्त बन्दैछ। कोरोनाले दिएको अपूर्व अवसर मानिएको छ यसलाई । जुम, एमएस टिम, गुगल मिट, भाइबर, मेसेन्जर, आदि विभिन्न भर्चुअल ‘एप्स’ र प्रविधिमा विद्यार्थीवर्ग सहजै खेल्न थालेका छन् ।

अफिसका बैठक तथा सेमिनार कक्ष पनि चैत ११ देखि खाली नै छन्। हामी वेबिनारमा चित्त बुझाइरहेका छौं । ई-मिटिङमा नै निर्णय गर्ने परिपाटी सिक्दैछौं। ससाना अर्थात् ५-१० जनाको बैठकदेखि पाँच-सातसय, एक हजारसम्मका भेला पनि हिजोआज नेपालमा भर्चुअल विधिबाट हुने गरेका छन्। यो पंक्तिकार पनि दैनिक दुईदेखि तीनवटा बैठक, वेबिनार र प्राज्ञिक-कक्षा इन्टरनेटमा बसेरै समाप्त गर्ने गरेको छ। व्यावसायिक जीवनको पैँतिस वर्षमा पहिलोपल्ट यसरी अभ्यस्त भइँदैछ । समय र कालक्रमले ल्याएको यो परिवर्तनसँग हामी हरेक व्यक्ति अभ्यस्त नभै अब सुख छैन । 

तर भर्चुअल इभेन्ट ह्याकिङको समस्यामा जेलिँदै गएका छन्। सूचना चोरीको जोखिम बढ्दो छ। बैठक र कक्षा चल्दाचल्दै बदमास ह्याकरले अश्लील (पोर्न) फोटो र भिडियो देखाइदिने, स्क्रिन सेयरमा नचाहिने कुरा लेखिदिने, गोप्य सूचना भङ्ग गरिदिने, आदि आदि समस्या बढ्दैछन्। गृहमन्त्रीदेखि पर्यटनमन्त्रीसम्म नै यस्तो ह्याकको सिकार भएका घटना ताजै छन्। नेपालको साइबर प्रणालीमा देखिएको ठूलो चुनौती हो यो ।

हामी किन यसरी असुरक्षित छौं ? को निरन्तर लागिरहेको छ यस्तो ह्याकिङगमा ? सरकार, गैसस, निजी क्षेत्र, हरेक प्रबुद्ध वर्ग सचेत हुनुपर्ने अवस्था छ । नेपाल प्रहरीले फेसबुक, इमेल, युट्युब, आदि विभिन्न सञ्जाल र सूचना प्रविधिमा “फेक आईडी” चलाउनेको खोजी कार्य तीब्र बनाउनुपर्छ। “फेक आईडी” खोल्न नपाउने पद्धति विकास गर्न नेपालमात्र होइन संसार नै लाग्नुपर्छ। नत्र स्थिति भयावह बन्नसक्छ, यस्ता ठूला बैठक र अनलाइन सम्मेलन पनि असमयमै टुंग्याउनुपर्ने हुन्छ । अरु धेरै कुरा गुमाउनुपर्ने हुन्छ। भर्चुअलमाथिको भर बढ्दो तर अपराध र आशंका पनि बढ्दो भयो भने हामी प्रयोगमा हच्किँदै जानेछौं । अतः ह्याकर र बेथिति मच्चाउन चाहनेको मनोबल बढ्न दिनु हुँदैन। उनीहरूलाई कडा कार्वाही गर्नुपर्छ। यसतर्फ सबै जनाको सचेतता र क्रियाशीलता बढोस्। सम्बन्धित निकायको विशेष पहलकदमी अति आवश्यक छ यो बेला। किनकि ३ वर्षको बच्चादेखि अति ज्येष्ठ नागरिकसम्म भर्चुअल दुनियाँमा रम्न थालेको संसार छ अहिले। हातहातमा मोबाइल र कम्प्युटर भए पनि सुरक्षाका दृष्टिले हामी संवेदनशील अवस्थामा छौँ। धन्यवाद !

गुल्मी,  हाल: नयाँबानेश्वर, काठमाडौं

प्रकाशित : २०७७ असार १५ गते १०:२९
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI