आज गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते ९:०८

आज गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती । नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रका नायक कोइरालाको जन्मजयन्तीका अवसरका आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । कोरोना संक्रमणका कारण सार्वजानिक कार्यक्रम नभएपनि कोइरालाको संझनामा विभिन्न भर्चुअल कार्यक्रमहरु हुनेभएका छन् । कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा विसं १९८१ असार १८ गते कोइरालाको जन्म भएको थियो ।

कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो । नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष भए । २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोगे । उनले चार वर्षको कारावासपछि २१ दिन भोक–हडताल गरी छुटेर भारत प्रवासमा गए । उनी २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भए ।

पटकपटक नेपालको प्रधानमन्त्री भएका कोइराला आफ्नो भनाइ पूरा गर्ने तथा अडानमा कटिबद्ध राजनेताको रुपमा परिचित थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उहाँलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरे । युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो ।

पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गरे । लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहे । उनले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गरे । जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री भए । कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उहाँ पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भए । जसको फलस्वरुप आज मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था छ ।

विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो ।

प्रकाशित : २०७७ असार १८ गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI