नेकपा स्थायी समितिको बैठक शनिबार सम्मका लागि स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते १७:०२
फाईल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बिहीवार दोस्रोपटक केही समयका लागि बसेर शनिवारसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री ओली बालुवाटारमा जारी पार्टीको स्थायी समिति बैठकमा उपस्थित हुन नमानेपछि विभिन्न छलफल गरेका शीर्ष नेताहरूले पुन: बैठक शुरू गरेका थिए।

पार्टीभित्र उत्पन्न विवादबीच उक्त पार्टीका शीर्षस्थ नेताहरू एकपछि अर्को राष्ट्रपतिसँग भेट गरेका छन् । एकै दिन फरकफरक समयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेको केही घण्टापछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्।

बिहान ११ बजे स्थगित भएको बैठक करीब सवा ४ बजेदेखि पुन: शुरू भएको थियो।

यसअघि दाहाल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर भण्डारीसँग करीब पौने घण्टा बिताएर पुन: बालुवाटार फर्किएका छन्।मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए।

बिहान ११ बजे केही समयका लागि शुरू भएको स्थायी समिति बैठक ओलीले क्याबिनेट बोलाएसँगै रोकिएको थियो । बैठक शुरू हुन नसकेपछि दाहालले वरिष्ठ नेता द्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडैलसँग छलफल गरेका थिए । त्यसपछि दाहालले प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट गरेपनि स्थायी समिति शुरु गर्न सकेनन् र शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका छन्।

स्रोतका अनुसार उनले राष्ट्रपतिसँग मुलुकको अहितमा हुने कुनै पनि कदम नचाल्न आग्रह गरेका छन्। संसद अन्त्य भएको समयमा अध्यायदेश जस्ता विषयको कुरा चलिरहेकाले यस विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी गराए ।

उनी बालुवाटार फर्किएपछि स्थायी समिति शुरू भएको हो । बिहानको बैठकमा पनि उपस्थित नभएका ओली साँझ पनि बैठकमा आएका छैनन्।

बालुवाटारमा जारी स्थायी समिति बैठक बिहान ११ बजे केही समय चलेपनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बोलाएपछि स्थगित भएको थियो । त्यसपछि मन्त्रिपरिषदबाट ओलीले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो नै संघीय संसद्को दुवै सदनको अधिवेशन साँझ ५ बजेबाट लागू हुने गरी अन्त्य गरेकी छन्।

प्रकाशित : २०७७ असार १८ गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI