करन केसीको ७ उत्कृष्ट बलिंग प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १३:५७
KARAN KC

आधा दशक देखि नेपाली राष्ट्रिय टिमको ओपेनिंग पेस बलिंगको जिम्मेवारी सम्हालिरहेका करन केसीले आफुलाई नेपाली क्रिकेटको चर्चित नामहरुमा सामेल गरिसकेका छन्। निरन्तर आफ्नो बलिंग सुधार गरिरहेका केसी एसोसिएट रास्ट्रमा अब्बल तिब्र गति बलर बन्ने दौडमा छन्। बलिंग मात्र नभई ब्याटिंगबाट समेत उत्तिकै योगदान दिन सक्ने केसीले २०१८ डिभिजन-२ मा क्यानडा बिरुद्ध १ विकेटको जित हात पार्दै नेपाललाई विश्वकप छनौट पुर्याउन खेलेको अविजित ४२ रनको इनिंग सायदै नेपाली समर्थकहरुले बिर्सनेछन्। अल-राउण्ड क्षमताकै कारण उनि नेपाली क्रिकेट टिमको अभिन्न अंग बनेका छन्।  करनको नाममा नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सबै भन्दा बढी विकेटको रेकर्ड पनि रहेको छ जसले २८ खेलमा ३७ विकेट आफ्नो नाम गरिसकेका छन्।  उनै केसीले नेपालको लागि गरेका ७ उत्कृस्ट बलिंग प्रदर्शनको चर्चा यस लेखमा गरेका छौँ। 

५ विकेट : बिरुद्ध क्यानडा, आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया 

करियरको सुरुवाती प्रतियोगितामै उत्कृस्ट सुरुवात गर्ने क्रममा करनले क्यानडा बिरुद्ध ५ विकेट लिंदै आफुलाई माथिल्लो स्तरमा लायक खेलाडी प्रमाणित गरेका थिए। डिभिजन-२ अन्तर्गत अघिल्लो २ खेलमा युगान्डा र नेदरल्याण्ड बिरुद्ध किफायती बलिंगका बाबजुद विकेटविहिन भएका करनले क्यानडाको माथिल्लो क्रम निस्तेज पारेका थिए।

करनले १० ओभरमा २ मेडन गर्दै २६ रन खर्चेर ५ विकेट लिंदा टस जितेर ब्याटिंग गरेको क्यानडा ११४ रनमै समेटिन पुगेको थियो। नेपालले मात्र ३ विकेट गुमाएर उक्त खेल जितेको थियो। उत्कृस्ट बलिंगका बाबजुद खेलको प्लेयर अफ द म्याच भने ७७ रन तथा १ विकेट लिएका कप्तान पारस खड्का चुनिएका थिए।

करनको उक्त स्पेल त्यतिबेला लिस्ट ‘ए’ क्रिकेटमा नेपालको सबैभन्दा उत्कृस्ट स्पेल थियो। २०१८ मा सन्दिपले केन्या बिरुद्ध ५ विकेट ( १०-५-२०-५ ) तथा सन्दिपलेनै अमेरिका बिरुद्ध २०२० मा ६ विकेट ( ६-१-१६-६ ) लिंदै उक्त रेकर्डलाई पछि पारेका थिए।

४ विकेट : बिरुद्ध हंगकंग, ओमान टि-२० सिरिज २०१९ , ओमान 

ओमान बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा हंगकंग बिरुद्ध नेपालले ४ विकेटको जित हात पार्दा करनले ४ विकेट लिएका थिए। ४ ओभरमा ३६ रन खर्चिएका उनले सबै विकेट हंगकंग माथिल्लो क्रमको ब्याट्सम्यानको लिएका थिए। करनको ४ विकेट मद्दतले हंगकंगले पहिले ब्याटिंग गर्दै १२५ रन मात्र बनाएको थियो। नेपालले ६ विकेट गुमाएर खेल जितेको थियो।

४ विकेट : बिरुद्ध नेदरल्याण्ड, ओमान टि-२० सिरिज २०१९ , ओमान 

ओमान टि-२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो खेलमा उत्कृस्ट बलिंग गर्ने क्रममा करनले बलियो नेदरल्याण्ड बिरुद्ध ४ विकेट लिएका थिए। ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेटको प्रदर्शन करनको टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल हो भने समग्रमा नेपाली खेलाडीको टि-२० अन्तर्राष्ट्रियमा दोश्रो उत्कृस्ट स्पेल हो। बसन्त रेग्मी ( ४-०-१६-४ ) को टि-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उत्कृस्ट स्पेलको रेकर्ड तोड्न करन थोरैले चुकेका थिए।

उक्त खेलमा करनको उत्कृस्ट बलिंग मद्दतले नेदरल्याण्ड १३३ रनमा समेटिन पुगेको थियो। नेपालले ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। खेलमा करनले ब्याटिंगमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। मात्र १४ बलमा ३१ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गर्दै करनले अपत्यारिलो जित दिलाएका थिए।

KARAN KC

४ विकेट : बिरुद्ध ओमान, आईसीसी विश्वकप लिग-२ २०२० , नेपाल 

नेपालमै आयोजित आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा करनले ओमान बिरुद्ध ४ विकेट लिएका थिए। ९ ओभरमा १ मेडन गर्दै उनले ४७ रन खर्चने क्रममा उनले दुइ ओमान ओपनरको विकेट लिएका थिए भने अन्तिममा महत्वपूर्ण साझेदारी पनि तोडेका थिए। करनको उत्कृस्ट प्रदर्शनको बाबजुद १९८ रनको लक्ष्य पछ्याउन नेपाल चुकेको थियो र १८ रनले खेल हार्न पुगेको थियो।

४ विकेट : बिरुद्ध अमेरिका, आईसीसी विश्वकप लिग-२ २०२० , नेपाल 

विश्वकप लिग-२ अन्तर्गत अमेरिका बिरुद्ध महत्वपूर्ण जित दर्ता गर्ने क्रममा करनले उत्कृस्ट योगदान दिएका थिए। अमेरिका ३५ रनले पराजित भएको खेलमा करनले ७.१ ओभरमा १ मेडन गर्दै १५ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए। खेलमा पहिले ब्याटिंग गर्दै नेपालले मात्र १९० रन बनाउन सकेको थियो। अमेरिकालाई १५५ रनमा समेट्ने क्रममा करनले अमेरिकी माथिल्लो क्रमको ब्याट्सम्यानहरुलाई पेभेलियन फर्काएका थिए। ७५ रन बनाएर जितमा तगारो बनेका हल्ल्यान्डको ठुलो विकेट करनले दिलाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा करनको ७.१-१-१५-४ को बलिंग स्पेल व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल हो भने नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो उत्कृस्ट स्पेल हो।

३ विकेट : बिरुद्ध नामिबिया , आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया 

डिभिजन-२ मा घरेलु टिम नामिबियालाई ३ विकेटले पराजित गर्ने क्रममा करनले उत्कृस्ट बलिंग गरेका थिए। क्यानडाको माथिल्लो क्रमलाई छिट्टै पेभेलियन फर्काउदै नामिबियालाई १४२ रनमा समेट्न करनले महत्वपूर्ण योगदान दिएका थिए। ६.१ ओभरमा उनले १ मेडन ओभर गर्दै ३ विकेट लिएका थिए। १४३ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर पुरा गरेको थियो।

KARAN KC

३ विकेट : बिरुद्ध हंगकंग , एसीसी इमर्जिंग टिम्स कप २०१९, बंगलादेश 

हंगकंग बिरुद्ध २१७ रनको योगफल रक्षा गर्ने क्रममा हंगकंगलाई १७७ रनमा नेपालले समेट्न सकेको थियो। ४० रनले नेपाल जित्दा करनले हंगकंगको माथिल्लो क्रमका ब्याट्सम्यानलाई छिट्टै पेभेलियन फर्काउन उत्कृस्ट बलिंग गरेका थिए। ९ ओभरमा १ मेडन गर्दै ३२ रन खर्चेर करनले ३ विकेट लिएका थिए र जितमा महत्वपूर्ण योगदान दिएका थिए।

प्रकाशित : २०७७ असार २० गते १३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI