आज गुरु पूर्णिमा : गुरुहरुप्रती श्रद्धाभाव प्रकट गरि मनाईदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते ५:५१

कावासोती – आज आषाढ शुक्ल पूर्णिमा । आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

प्रकाशित : २०७७ असार २१ गते ५:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI