आहार व्यवहार विचार र कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते १३:२६

 

-श्रीधर लामिछाने

खानपान एक बहस: भनिन्छ शरीरिक मानसिक र अध्यात्मिक स्वास्थ्य ठिक भए मात्र मान्छेको बाँकि जीवन सुखमय हुन्छ। “स्वास्थ्य नै सम्पत्ति हो” भन्ने त हाम्रो उखान नै छ। हुनपनि राम्रो स्वास्थ्य पाउने व्यक्ति भाग्यमानी नै हुन्।

कोरोनाको कहर शुरु भए पछी संचार क्षेत्रमा अनेक अनेक खानपिन बारे प्रचार प्रसार भए। कसैले कुनै कुराले रोग अवरोध नै हुने दावी पनि गरे अनि धेरै विवादमा पनि परे । जे भए पनि हाम्रो जीवनमा खानपिन मात्र हैन धेरै कुराले हाम्रो स्वास्थ्य र व्यक्तित्वमा फरक पारिरहेको हुन्छ । त्यस मध्ये समग्रमा हेर्दा वुझ्दा र अनुभव बाट विचार गर्दा आहार, व्यवहार, र विचारले मान्छेको स्वास्थ्य र व्यक्तित्वमा धेरै नै असर पारेको हुन्छ । बाँच्नकै लागि आवश्यक पर्ने खानपिन अवश्यपनि महत्वपूर्ण छन्। त्यो बाहेक पनि कोरोना जस्ता महामारीमा पनि उल्लेखित तिन कुराले गम्भीर असर पर्छ भन्ने कुरा धेरै नै महत्वपूर्ण छ । स्वस्थ्य व्यक्तिलाई सामान्यतया सानातिना रोगले सजिलै आक्रमण गर्न सक्तैन। गरि हाले पनि सजिलै त्यस्ता रोग लाइ परास्त गर्न सक्छ भन्छन अनुभवी र विज्ञहरू। शरीरमा रोगका जीवाणु आइहाले पनि त्यस संग लड्ने क्षमता राम्रो भै रोग लाइ परास्त गर्न सक्छ भन्छन ज्ञाताहरू।

हुनत मानिसको शरीर अत्यन्त धेरै बिधि र प्रणाली बाट बनेको र चलेको हुन्छ । जुन कुरा हामीलाई पत्तै हुदैन । हाम्रा शरीर भित्र पाचन प्रणाली, स्नायु प्रणाली, रक्त संचालन तथा प्रशोधन प्रणाली,  आदि धेरै प्रकारका प्रणालीहरु छन् । हरेक प्रणाली संचालनको निमित्त  बिबिध तत्वहरु चाहिन्छ जसले शरीरमा शक्ति दिन्छ जसरी शक्ति विना कुनै पनि चिज वस्तु वा प्रणालीहरु संचालन हुन सक्दैन । त्यस्तै गरि खाद्यवस्तुमा पनि धेरै तत्व पाइन्छ । कुनै मा कुनै तत्व बढी हुन्छ कुनैमा अर्को कुनै। जस्तै उदाहरणका निमित्त कार्बोहाईडेट चामल, गहु, मकै आलु आदि मा बढी पायिये झैं दालजन्य खानेकुरामा प्रोटिन बढी पाइन्छ । त्यस्तै घ्यु तेल आदि चिल्लो पदार्थको खानि हो भने साग सब्जी र फलफूल भिटामिन र मिनरल्स आदिको भण्डार हो । तिनै कुराहरु हाम्रो शरीर को लागि आवश्यक हुन्छ । केवल कुनै अलि बढी चाहिन्छ भने कुनै कम भए पनि शरिरिको आवश्यकता पुरा हुन्छ । हामीलाई नियमित काम गर्ने उर्जाको लागि चिनियुक्त कार्बोहाईडेट बढी चाहिन्छ भने प्रोटिन अलि कम भए पुग्छ त्यसरी नै मिनरल, भिटामिन पनि शरीरको लागि महत्वपुर्ण त्यतिकै छ। केवल मात्रात्मक फरक मात्र हो। शरीरमा हरेक तत्वको काम फरक फरक हुन्छ ।

विशेषज्ञहरूको अनुसार, अहिले कोरोना अथवा कोभिड १९ भन्ने रोग ले पनि जसको रोगवारोधक शक्ति कम भएकाहरू लाइ नै गम्भीर अवस्थामा पुर्‍याँउछ अनि कतिको त जीवन नै समाप्त हुन्छ भन्छन।  कोरोना ले सामान्यतया दिर्घ रोगि र कम्जोर ज्येष्ठ नागरिकहरू लाइ नै बढी गाँजेको छ। भनिन्छ मृत्यु भएका मध्ये लगभग ८०% ज्येष्ठ नागरिक नै छन् । फेरी कोरोना जस्ता रोगको औषधि पनि विकास भैसकेको छैन न त खोप नै बनेको छ।

तसर्थ कोभिड १९ लगायतका रोगहरू संग जुध्न सक्ने हुन हामी सबैले हाम्रो रोग अवरोधक क्षमताको विकास गर्ने नै हो । त्यसो भए रोग अवरोधक क्षमता कसरि बढाउने त? यस विषयमा धेरै अध्ययन अनुसन्धान भएका छैनन् । आधुनिक युगमा पनि धेरै वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गरिरहेका छन् र यो क्रम जारी रहने छ । प्रमाणिक भने भएका छैनन् । अध्ययन अनुसन्धान मात्र हैन यो विषयमा अनुभव हासिल गर्ने कम छैनन खास भन्ने हो भने हरेक मानिसले अनुभव प्राप्त गरेको हुन्छ केवल अरु संग आदान प्रदान गर्छ कि गर्दैन वा गर्न सक्छ कि सक्दैन भन्ने मात्रै हो। त्यसको निमित्त प्रमाणिक रूपमा भन्न सकिने आधार भने देखिएको छैन ।

खानपानमा भएका विवादित कुरा: अर्को एक सत्य कुरा के हो भने हरेक व्यक्तिको अनुहार जस्तै शरीर पनि फरक हुन्छ । कसै लाई कुनै कुराले एकदम राम्रो गर्छ । कसैलाई त्यहि कुरा ले बेठिक पनि गर्न सक्छ । जस्तै उदाहरण निमित्त लसुनले धेरै राम्रो गर्छ भने धेरै हुन्छन तर लसुनले मुख सुकाउछ भन्ने हरु पनि छन् । त्यस्तै वेसार अमृत नै हो भन्ने पनि छन् अनि वेसार सामान्य मसला हो भन्नेहरु पनि हुन्छन । कुनै कुरा मिठोको निमित्त राखिए पनि त्यसको औषधीय गुणले शरीरलाई थप फाइदा पुर्‍याएका पनि हुन्छन । खाद्य विज्ञान धेरै नै विवादयुक्त छ । कुनै पनि कुरा निर्विवाद हुदैन हरेक कुरामा राम्रो र नराम्रो दुवै गुण हुन्छ । जसलाई फाइदा गर्‍यो उसले गुण गान गाउँछ। जसलाई वेफाइदा गर्‍यो उसले सराप्छ । त्यसैले एकजना नामुद नर देवी आयुर्वेदिक अस्पतालका बैद्यनाथ भन्नु हुन्थ्यो ३० वर्षको उमेर सम्मको अनुभवले मानिसले राम्रो ध्यान दिएर आफु र आफ्नो शरीरलाई अध्ययन गरेको खण्डमा उसलाई के के कुराले फाइदा गर्छ र कुन कुन कुराले बेफाइदा गर्छ थाहा भै सक्छ। आफुलाई फाइदा हुने कुरा ठिक्क संग खानु वा प्रयोग गर्नु जुन जुन कुराले आफुलाई बेफाइदा गर्छ ति कुराको प्रयोग नगर्नु वेस हुन्छ। त्यसो भएमा तिमि सकभर शारीरिक कठिनाइ कम भोग्ने हुन्छौँ।

आजकाल भनेको सुनेको आधारमा धेरैले यो खाने कुराले यस्तो फाइदा गर्छ भनेर आफुलाई लागेको कुरा लेखि हाल्ने अथवा युट्युबमा राखिहाल्ने गर्छन त्यसको बैज्ञानिक सत्यता के कस्तो छ खोजि गर्दैनन् । हचुवाको भरमा लहै लहैमा त्यसो गर्ने हामी धेरै छौ। त्यसरी गुगल तथा वेब साइटहरुमा समेत प्रचार प्रसार गरिएका खानेकुराहरूमा लसुन, अदुवा, रातो वन्दा, रातो भेडे खुर्सानी, अमिलो जातका फलफूल, ब्रोकाउली, चुकन्दर, गाजर, स्ट्रवेरी, आँप, तर्बुजा, लेट्युस, केलको साग, पालुङ्ग, दहि, सूर्यमुखीको वियाँ, फर्सीको वियाँ, वेसार, ग्रीन टि, मेवा, अल्मोंड, किवी, ओखर, कटुस, खानको लागि चिकेन सूप र जलचर जस्तै माछा, गंगटा, लबस्टर, आदि आदि  पर्छन । अवस्य पनि उल्लेखित खानेकुराले स्वास्थ्यमा सकारात्मक असर पर्ला तर के के को निमित्त कुना कुरा कति खानु पर्ने? त्यस बाट कस्तो असर पर्छ? त्यसको प्रयोग कसरि गर्नु पर्ने हो? भन्ने कुरामा मा बैज्ञानिक आधार भने देखिदैन। त्यस्तो आधार तयार गरेर प्रचार प्रसार गरेमा बढी प्रभावकारी हुन्थ्यो कि? मेरो तात्पर्य उल्लेखित खानेकुरा खराव वा हानिकारक हुन् भन्ने चाही हैन ।

शरीर सदा स्वास्थ्य र तन्दुरुस्त राख्न पहिलो आत्मबल वलियो राख्नु जरुरि हुन्छ। आत्मवल कमजोर हुँदै गयो भने मानिस स्वाभाविक रूपमा अझ कम्जोर र रोगि हुन् सक्छ। आत्मबल वलियो वनाउँन सदा सकारात्मक भावना राख्नु पर्छ र तदनुरूप व्यवहार गर्नु पर्छ। नकारात्मक सोचाई र गराइले सम्बन्धित व्यक्तिलाई मात्र हैन उसका निकट अरुलाई पनि असहज स्थिति सृजना गरिरहन्छ।    

खानपानको मात्रा:  उचित मात्रमा खाने कुरा खानु अर्को कल्याणकारी काम हो । कसैले शरीर वलियो बनाउने नाममा अत्यधिक धेरै खाने कुरा खाने गर्छन । मेरो एक जना ठुलो आमा भन्ने गर्नु हुन्थ्यो “धेरै खाए मल थोरै खाए बल” । हुनत त्यो कुरा व्यक्तिको कामको प्रकृतिले पनि फरक पर्दछ । शारीरिक बल पर्ने धेरै काम गर्ने मानिसको लागि स्वाभाविक रूपमा खान पनि त्यै अनुसार चाहिन्छ । त्यस्तै मानसिक काम अफिस कोठामा वसेर गर्नेलाई अरुको तुलनामा कम चाहिएला । कसैको शारीरिक बनौट नै अलि बढी खाना चाहिने खालको हुन्छ। तर विज्ञ अनुभविहरु भन्ने गर्छन रित भूक, मित भूक, र हितभूक। ऋतु अनुसारको खानेकुरा खानु, मितव्ययी अर्थात् पेट टन्न कसिने गरि हैन तिन भागको एकभाग मात्र खाना, एक भाग पानि र एक भाग खाली छोडी दिनु भनिन्छ। त्यस्तै अघि भनिए जस्तै आफ्नो शरीरलाई कुन किसिमको खानाले बढी लाभ गर्छ त्यस्तो खाना बढी हितकर हुन्छ।

स्वास्थ्यको लागि आराम: त्यस्तै अर्को एकदम विचार पुर्‍याउन पर्ने कुरा एउटा वयस्क मान्छेको निमित्त ६-८ घण्टा सुत्नु पर्छ । तर काम छ भनेर वा रमाइलो लाग्यो भनेर धेरै वेर नसुत्ने वा पिर पर्‍यो निदाउन सकिएन भनेर अनिदो वस्ने वा पुरा मात्रामा नसुत्ने हुदा पनि मानिसको स्वास्थ्यमा कु-प्रभाव पर्छ । काम छैन भनेर सुतेको सुतेई गर्ने अनि धेरै काम पर्यो भनेर सुत्दै नसुत्ने यी दुवै खाले “अति” शरीरको लागि ठिक हुदैन। आफुलाई सकभर व्यवस्थित गर्ने। खाने समय, आराम गर्ने समय, योग प्राणायाम ध्यान गर्ने समय, र काम गर्ने समय सहि ढंगले मिलाएर प्रयोग गरिएमा शारीरिक स्वास्थ्य राम्रो बनाउन सकिन्छ। तसर्थ शारीरिक आरामलाई पनि महत्व दिने गर्नु पर्छ। 

हाम्रो सक्रियता: त्यस्तै हाम्रो शारिरिक एवम मानसिक स्वास्थ्य लाइ तन्दुरुस्त राख्न शारीरिक एबम मानसिक सक्रियताको खाँचो पर्छ। सकेसम्म र मिले सम्म शरिर लाइ काम लगाउने, आफु लाइ व्यस्त राख्ने, चाहे घरायसी काम होस् वा अफिसियल काम फूर्तिका साथ विवेकपूर्ण ढंगले काम गरियो भने शरीरिक स्वास्थ्य मात्र हैन आफुलाई सन्तुष्टि मिल्छ सन्तुष्टिले मानसिक स्वास्थ्य अझ मजबुत गर्न मद्दत पुर्‍याँछ। अनि आफ्नो हित पनि त्यसैले गर्छ। अध्यात्मिक चिन्तन अर्को एक क्षेत्र हो जुन अहिले को समाजले राम्रो संग समात्न सकिरहेको देखिदैन। आत्म चिन्तन अध्यात्मिक चिन्तन मानसिक विकासको लागि एक खुराक नै हो भन्नु अत्युक्ति नहोला। आ-आफ्नो विश्वास अनुसार, को संग कसरि सकिन्छ अध्यात्मिक चिन्तनमा लाग्नु हितकर नै हुने ठान्दछु म। मानसिक अभ्यासका लागि पहिले पहिले बाघचाल, लुडो, चेस, ब्रिज लगायतका खेल खेंलिन्थे। यी खेल खेल्दा समय काट्ने मात्र हैन मानसिक अभ्यास हुन्छ र मानसिक स्वास्थ्य प्रबर्धन हुन्छ। यसको लागि धेरै प्रकारका अभ्यास अहिले वेब साइटहरुमा पनि पाइन्छ। केहि नभए दैनिक १-२ घण्टा हिड्ने गरियो भने त्यो उत्तम हुन्छ ।

मानसिकता र सन्तुष्टि: मानसिक सन्तुष्टि प्राप्त गर्न त अझ मेरो अनुभवमा के रहेछ भने आफ्नु बगैंचामा काम गर्नु । करेसावारीमा काम गर्नु , चराचुरुंगी र माछालाई आहारा खुवाउनु, यसो गर्दा फलफूल तरकारी पूर्ण अर्ज्ञानिक खान पाइने मात्र हैन आनन्द दिने माध्यम बन्ने रहेछन । यस पटक कोरोना को लक्डाउंन वस्दा हामीले यस्ता अभ्यास धेरै गर्यौ र आनन्द लिने मौका पायौं । वच्चावच्ची संग खेल्ने रमाउने पनि अर्को मज्जाको विषय हुन्छ । मलाई त लाग्छ वच्चा, चराचुरुंगी, पुतली, फलफूल देख्दा प्राय सवैको मन रमाउछ । अनि करेसा वारी र बगैंचामा बस्दाको शिर…. शिर….. हावाले ल्याउने आनन्दको के तुलना गर्न सकिन्छ र?  

शरिरको लागि पानी: सामान्यतया हामी पानीमा धेरै ध्यान दिने गर्दैनौ। पानी बाच्ने अनिवार्य आवश्यकता मध्ये एक हो भन्ने बुझेर पनि नबुझेको जस्तो गर्नेले अथवा वेवास्ता गर्नेले पछी धेरै प्रकारका समस्या भोग्नु पर्ने हुन्छ। यानेकि मानिसको शरीरलाई पानीको मात्रा प्रशस्त चाहिन्छ किनकि शरीरको सबै भन्दा धेरै भाग भनेको पानि नै हो । शरीरलाई पानीको मात्र पुरा गरौँ। तसर्थ आफुले आफ्नै लागि हेरौ मैले चाहिने मात्रामा पनि पिएको छ कि छैन भनेर । होस् गर्नु भएको छ र त्यसअनुसार पानि पिउने गर्नु भएको छ भने ठिकै छ हैन भने एकपटक विचार गर्नोस है धोका पाउनु अघि नै ।

योग, प्राणायाम, र ध्यान: सम्भव र आवश्यक हुनेहरुले नियमित योग, प्राणायाम, र ध्यान गर्ने गर्नाले माथि भनिएका शारीरिक, मानसिक, र अध्यात्मिक तिनै प्रकारका स्वास्थ्य क्षेत्रलाई मलजल पुर्‍याउँछ। अहिले न्युरो विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, हृदय रोग विशेषज्ञ हरुले समेत योग, प्राणायाम र ध्यान जस्ता कुरालाई जोड दिई रहेको पाइन्छ ।  

सृजनात्मक काम गर्ने वा सृजनात्मक काम गर्नेले निरन्तर रूपमा लागि रहनुपर्छ जस्त बाट व्यक्ति स्वयम्, परिवार, समाज सबै लाइ लाभ दायक नै प्राय हुन्छ। अथवा निरन्तरता दिने तर्फ पनि सोच्नुपर्दछ । यो कोरोनाको लकडाउनको समयमा धेरै साथीभाई र आफन्तहरु कवि, कथाकार, संगीतकार, नृत्यकार, वाद्यबादक हुनु भएको छ यसले अहिले मात्र हैन जहिले पनि एउटा अर्को राम्रो काममा अभ्यस्त हुन मद्दत गरेको छ । कतिपय दिदीवहिनी दाजुभाई गायक हुनु भएको छ । यो भन्नु पर्दैन कि भजन गीत संगीतले मानिस लाइ आनन्द दिलाउछ अरुलाइ पनि आनन्दित गराउन प्रेरित गर्दछ। यो त अझ सुन्दर कुरा।

सामाजिक संलग्नता: यसरी नै अर्को क्षेत्र हो सामाजिक काम । समाजमा रहनु भएका सबैले सबैलाई मद्दत गर्ने परिपाटि वसाउँन पाए? यो क्षेत्र धेरै विशाल छ। सवै तहका सरकारले सामाजिक काम लाइ प्रोत्साहन गर्नु पर्दछ। त्यसो भएमा मान्छे अझ यस क्षेत्रमा लागि सामाजिक हितका काम मा अघि बढ्ने छन्। पहिले पहिले बाटो वनाउनु, मर्मत गर्नु, कुलो बनाउनु मर्मत गर्नु, मठ मन्दिर विद्यालय निर्माण र मर्मत जस्ता काममा सामाजिक काम भनेर लाग्ने गर्दथे। तर यो अहिले एकदम बृहद भएको छ। अहिलेको कोरोनको अनुभव ले त यसलाइ अझ धेरै फरक वनाए जस्तो लाग्छ। अलिकति सृजनात्मक भएर हेरौं त ।   

समयमा खोप :- अहिलेको वैज्ञानिक युगमा धेरै प्रकारका रोग लग्न नदिन विभिन्न प्रकारका खोपहरुको विकास भैसकेको छ । तर सुचनाको अभावमा मान्छेले खोपको सतत उपयोग गर्न सकेको छैन । अहिले कोरोना आएपछी नै पनि जसले फ्लुको खोप लगाएको थियो उसलाई कोरोना लागेपनि छिटो निको भएको वा लाग्न बाट वचेको भन्ने सुनिन्छ । सायद यस कुराको पुष्टि अध्ययन कर्ताले गर्लान। त्यसैले पाउने सम्मको खोप लगाएमा मानिसलाइ रोग लाग्न बाट वचाउन मद्दत गर्ला । मेरो आफ्नै एउटा उदाहरण यहाँ सान्दर्भिक होला भन्ने ठान्दछु । लगभग ७ वर्ष पहिले मलाई जनै खटिरा आयो । अलि कडा खालको रहेछ मलाई झन्डै ३ महिना ओछ्यान पार्यो। अहिले सम्म पनि त्यसको डाहा जारीनै छ। भन्नाले दुख्ने, पोल्ने, सियोले घोचेको जस्तो हुने गरेको छ । मलाई त्यतिवेला सम्म जनै खटिराको खोप हुन्छ भन्ने थाहा थिएन । जब घाउ निको भएर म बाहिर निस्कन थालें तव एक मेरो अमेरिकन साथीले सोध खोज गर्दा मैले जनै खटिराले गर्दा ओछ्यान परेको बताएँ । उनले मलाई खोप लगाएको थिएन ? भनेर प्रश्न गर्दा पो थाहा पाएँ कि जनै खटिराको पनि खोप पाईने रहेछ । मैले अहिले सम्म दुखेको पिडा भोग्नु परिरहेको छ । खोप बारे थाहा पाए पछी मैले धेरै साथीहरुलाई जनै खटिराको खोप लगाउन सुझाब दिने गरेको छु। अहिले टेकु अस्पतालमा यस बारे बढी जानकारी पाइन्छ। अर्थात् छाला रोग विशेषज्ञले पनि वताउँछन  सोध खोज गरेमा।

संक्षेप: समग्रमा भन्दा सन्तुलित भोजन अर्थात् पौष्टिक, सन्तुलन मिलेको भोजन, सफा एबम ताजा भोजन र उपयुक्त मात्रामा भोजन गर्यौ, पानीको आवश्यक मात्रामा पियौं, आवश्यक मात्रामा सुतेका छौ, आफुलाई सकेसम्म सकारात्मक भएर व्यवहार गर्ने बानीको विकास गरेका छौ, शारीरिक, मानसिक, र अध्यात्मिक स्वास्थ्यको ख्याल गरेका छौँ खोप भएका रोगको लागि खोप समयमा लगाएका छौँ भने कोरोना लगायतका धेरै जसो स्वास्थ्य समस्या वाट आफुलाई जोगाउन सक्ने हुन्छौँ सायद। नत्र भने खै के खै के? अस्तु।

सिनामंगल, काठमाडौँ (हाल अमेरिका)

सुझाब को लागि-  [email protected]

लेखकबाट थप:-

प्रकाशित : २०७७ असार २६ गते १३:२६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI