पश्चिम नवलपरासीमा काङ्ग्रेस विवाद मिल्यो : सभापतिमा विष्णु पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते १६:२८

परासी : नेपाली कांग्रेस पश्चिम नवलपरासीमा देखिएको जिल्ला नेतृत्वको विवाद केन्द्रले मिलाएको छ ।

जिल्ला सभापतिको विषयमा दुई गुटबीच एकवर्ष अघिदेखि विवाद हुँदै आएको थियो । विवादका कारण दुई गुटले छुट्टा छुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका थिए ।

विवाद मिलाउन केन्द्रले दुई गुटका नेतालाई काठमाण्डौं बोलाएको थियो । विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएका थिए ।

आइतबारदेखि दुई गुटलाई राखेर विवाद मिलाउन खोजिएपनि सहमति हुन सकेको थिएन । सोमबार मात्र त्यसको टुंगो लागेको जिल्लाका एक नेताले बताए । प्रवक्ता शर्मा र मुख्यसचिव पौडेलले सहजकर्ताको भूमिका निभाएको बैठकमा दुई गुटबीच विवाद मिलाउन ७ बुँदे लिखित सहमति गराइएको छ ।

विवादका कारण संगठन विस्तारसँगै क्रियाशिल सदस्य वितरणमा समस्या आउने र त्यसले महाधिवेशनलाई समेत अप्ठ्यारोमा पार्ने संभावना बढेपछि केन्द्रले विवाद मिलाएको हो ।
जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको गुट छ ।


जिल्ला विभाजनपछि निर्वाचित जिल्ला सभापति एंव प्रदेश ४ का सभासद् विष्णु लामिछानेले पूर्वी नवलपरासी पार्टी नेतृत्वको जिम्मेवारी लिएका थिए । त्यसपछि लामिछानेले कार्यबाहकको जिम्मेवारी उपसभापति अर्जुन कुमार पोखरेललाई दिएका थिए । त्यसमा कँडेल पक्षले असहमति जनाउँदै आएको थियो ।

कँडेल पक्षकै दबाबमा पार्टी सभापति देउवाले जिल्ला नेता विष्णु प्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी सहितको पत्र पठाएका थिए । महामन्त्री शशांक कोईरालाले भने पार्टी सभापति देउवाले विधान विपरीत सभापतिको पत्र दिएर पठाएको भन्दै लिखित पत्र मार्फत आपत्ति जनाएका थिए । त्यसपछि दुई गुटबीच कार्यबहाक सभापति र जिल्ला सभापतिको विषयमा विवाद चर्किको थियो ।

७ बुँदे सहमतिपछि भने कार्यबहाक जिल्ला सभापतिले नै जिल्ला नेतृत्व सम्हाल्ने पक्षमा रहेका नेताहरु अन्ततः पार्टी सभापति देउवाले पत्र दिएर पठाएका जिल्ला नेता पौडेललाई सभापति स्वीकार गर्न तयार भएका छन् ।

सहमति पत्रमा पार्टीको आन्तरिक समायोजन हुनुपूर्व तत्कालीन जिल्ला सभापति विष्णु लामिछाने र कार्यबहाक अध्यक्ष पोखरेलले मनोनित गरेका पदाधिकारी र जिल्ला सदस्यको निर्णय स्वीकार गर्ने तर समायोजनपछि पोखरेल र पौडेल दुवैले गरेका मनोनितको निर्णय भने खारेज गर्ने सहमति गराइएको छ । विवादपछि दुवै नेताले छुट्टा छुट्टै बैठक बसेर पदाधिकारी र सदस्य मनोनित गर्दै आएका थिए ।

त्यसैगरी जिल्ला कार्य समितिको उपसभापतिमा पोखरेलपछि तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका सुवासचन्द्र गिरी दोस्रो उपसभापति रहने सहमति गराइएको छ । क्रियाशिल सदस्य वितरण गर्दै अधिवेशनको प्रकृयातर्फ दुवै पक्ष हार्दिकता र मैत्रीपूर्ण वातावरणका साथ अघि बढ्नेलगायतका सहमति दुई गुटबीच गराइएको छ ।

प्रकाशित : २०७७ असार २९ गते १६:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI