गैँडाकोट ५ मा घरभाडामा दिन र होम क्वारेन्टाइनमा बस्न नपाईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते १६:१८

प्रकाश भण्डारी, गैँडाकोट

वडा नं. ५ का वडाध्यक्ष नवराज कंडेल

गैंडाकोटमा आज ५ सुरक्षाकर्मी लगायत १८ जनामा कोरोना संक्रमण देखिएसँगै गैँडाकोट नगरपालिकामा थप सतर्कता अपनाईएको छ।

होम क्वारेण्टीनमा रहेका व्यक्तिमा समेत कोरोना पुष्टि भएसँगै गैँडाकोट नगरपालिका वडा नं. ५ मा आजैका दिनदेखि होम क्वारेण्टीनमा बस्न नपाउने गरि सूचना जारी गरिएको हो।

गैँडाकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नवराज कंडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दे होम क्वारेन्टाइनमा बस्न नपाउने जानकारी गराउनुभएको हो।

होम क्वारेण्टीनमा बसेकाहरूले होम क्वारेन्टाइनको न्यूनतम मापदण्ड पनि पुरा नगरेको र पूर्व सावधानी नअपनाउँदा कोभिड १९ समुदाय स्तरमा फैलिन पुग्कोले यस्तो कदम चाल्नुपरेको वडाध्यक्ष कंडेलले बताउनुभयो।

गैँडाकोट नगरपालिका वडा नं. ५ मा कोभिड १९ को संक्रमण बढेकोले जनप्रतिनिधि तथा टोलसुधार समितीको अनुमति बिना वडाबासीले कसैलाई पनि घरभाडामा बस्न नदिन आग्रह समेत गरिएको छ। सूचनालाई अटेर गरि कसैले घरभाडामा दिएको खण्डमा सो घर १५ दिनका लागि सिल गरिने र वडाले तोके बमोजिमको ५००० जरिवाना लाग्ने वडाध्यक्ष कंडेलले जानकारी गराउनुभयो। जरिवानाबाट संकलित रकम जोखिम व्यवस्थापन कोषमा जम्मा हुनेछ।

साथै १५ दिन पश्चात गरिने सम्पूर्ण व्यक्तिहरूको पिसिआर परिक्षणका लागि लाग्ने शुल्क समेत घरधनीले व्यहोर्नुपर्ने पर्नेछ। त्यस्तै साउन १ गतेदेखि विदेशबाट आउने हरेक वडाबासी होम क्वारेन्टाइनमा बस्न नपाउने र वडाले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको वडाध्यक्ष नवराज कंडेलले बताउनुभयो।

प्रकाशित : २०७७ साउन १ गते १६:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI