प्रधानमन्त्री ओलीको भाषणको असर : मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरी लेखियो जय श्रीराम

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २ गते १२:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको बयानको सजाय भारतमा रहेका नेपालीले भोग्नु परेको छ । प्रधानमन्त्री ओलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन् । यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन् ।

हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको छ । ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएको छैन ।

भाइरल भिडियोमा गंगाको घाट नजिक यो घटना भएको देखिन्छ जहाँ नेपाली युवकलाई संगठन र हिन्दूस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिन्छ । उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् ।

त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन् । उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् । र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन् ।

हिन्दूवादी संगठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिर बाहिर चेतावनीसहितको पोस्टर लगाएका थिए । जसमा प्रधानमन्त्री ओलीले भगवान रामबारे दिएको बयान फिर्ता लिन माग गरेका थिए । उनीहरुले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

स्रोतः आजतक

प्रकाशित : २०७७ साउन २ गते १२:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI