वडाध्यक्षका परिवारका सदस्यसहित २३ नयाँ संक्रमित थपिए, समुदायमै संक्रमण फैलिएको आशंका

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ४ गते १८:५६
वडाध्यक्षका परिवारका सदस्यसहित २३ नयाँ संक्रमित थपिए, समुदायमै संक्रमण फैलिएको आशंका

सर्लाही । सर्लाहीमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने बरहथवामा आइतबार एकै दिन थपिएका २३ जना नयाँ संक्रमितमध्ये एक जना वडाध्यक्षका परिवारका सदस्य, बैंकका दुई कर्मचारी, मूर्तिया र हजरिया निवासी नागरिकहरु रहेका छन् ।

 प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आइतबार बरहथवाका २४ जनाको थ्रोट स्वाब रिपोर्ट पोजिटिभ आएको र त्यसमध्ये एक जना पुरानै संक्रमितको दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको हो । 

एकैपटक २३ जना नयाँ संक्रमित थपिएपछि उनीहरुको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी जिसी आफै अहिले बरहथवामा हुनुहुन्छ । बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले घरमै रहेकाहरुमा समेत संक्रमण पाइएकाले समुदायमै संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको बताए । 

उहाँले आइतबार थपिएका संक्रमितलाई बेग्लै आइसोलेटेड गरेर राखिने जानकारी दिए । केही दिनअघि पोजिटिभ रिपोर्ट आएका वडाध्यक्षको दोस्रो परीक्षण रिपोर्ट भने नेगेटिभ आएको मेयर महतोले बताए ।

 केही हप्ता अघिसम्म दैनिकी संक्रमित थपिने सर्लाहीमा धेरै दिनपछि आइतबार पुनः २३ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार थपिएका समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६९० पुगेको छ । पछिल्ला दिनमा जिल्लामा कोरोना परीक्षणको दायर कम हुँदै गएको छ ।

प्रकाशित : २०७७ साउन ४ गते १८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI