केही दिन भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ४ गते १९:०२
केही दिन भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँ-ठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ । मुख्यगरी प्रदेश नं २, ५, गण्डकी, वाग्मतीका धेरै स्थानमा वर्षा भएको छ । रातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताए ।

विभागका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश नं १ तथा प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । सोमबार बिहानदेखि भने मनसुन थप सक्रिय भएर थप वर्षा गराउने विभागले जनाएको छ । कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

त्यसैले बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ । मौसमविद्का अनुसार सोमबार साँझ या मङ्गलबार न्यूनचापीय रेखाले नेपाल छुने भएकाले भारी वर्ष निम्त्याउने छ । यही साउन ८ गतेदेखि विस्तारै दक्षिण जाने जनाइएको छ । 

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषतभन्दा बढी अर्थात् २३० प्रतिशत पानी परिसकेको छ । प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले योपटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु अनिल पोखरेलले बताए ।

यसबेला पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पु¥याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुनेछ । मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकैपटक बगेर पहिराको रुप पनि लिन सक्नेछ । त्यहाँबाट बगेको पानीले नदीनालाको सतह बढाउनेछ । 

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, वाग्मती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, नारायणी, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्ने अनुमान छ । ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने ससाना नदी नालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने अनुमान छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् ।

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यसअघि असार २५ देखि २९ गतेसम्म पनि यसैगरी मनसुन सक्रिय हुँदा ठूलो जनधनको क्षति भएको थियो । वैशाखयता मुलुकभर विपद्जन्य घटनाबाट १६० ले ज्यान गुमाइसकेका छन् भने ५२ जना हराइरहेका छन् । यसपाली पहिराले धेरै मानिसको ज्यान लिएको छ । पर्वत, बझाङ, सिन्धुपाल्चोक, जाजरकोट, कास्कीलगायत जिल्लामा अकल्पनिय पहिरो खसेको छ ।

प्रकाशित : २०७७ साउन ४ गते १९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI