धादिङमा पहिरो : एकजनाको मृत्यु, सात घर पुरियो, पृथ्वी राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते २३:०२

धादिङमा बाढीपहिरोका कारण एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गजुरी गाउँपालिका– २ स्थित मजुवाडाँडामा पहिरो जाँदा स्थानीय १७ वर्षीया निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यस्तै, बेनीघाट रोराङ गाउँपालिका– ८ धुषाटारमा निशा चेपाङको घर भत्किँदा उनी पाँच वर्षीया छोरी संगीता चेपाङ गम्भीर घाइते भएकी छिन् । घर भत्किएर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको डिएसपी खड्काले बताए । धादिङकै थाक्रे गाउँपालिका– ६ महादेवबेसीकी एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । उनको खोजीकार्य भइरहेको र उनको पहिचान हुन नसकेको खड्काले बताए ।


यस्तै, बाढीपहिरोले बाँदरेमा तीनवटा सवारीसाधन बगाएको छ भने चारवटा सवारीसाधन पहिरोमा पुरिएको खड्काले बताए । 

यस्तै, धादिङ र चितवन जोड्ने मौवा खोलाको पुल भत्किएको छ । बाढी र पहिरोका कारण धादिङतर्फको पुल भत्किएको उनले बताए । धादिङतर्फको पुल भत्किँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । पृथ्वी राजमार्गको हुग्दीखोला, बाँदरेखोला, बैरेनी, चालिसे, फुर्केखोला, मलेखु, छहरेलगायतको क्षेत्रमा राजमार्गभन्दा माथिबाट लेदाे आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध रहेको उनले बताए । 

गजुरी गाउँपालिका– ६ स्थित बेल्खुमा पहिरो जाँदा ३३ केभी लाइनको पोल बगाएको छ । पोल बगाउँदा जहरे सबस्टेसनबाट वितरण भएको विद्युत् सेवा पनि अवरुद्ध भएको छ । पोल ढलेका कारण आदमघाट, पिँडा र गजुरी आसपासमा क्षेत्रमा पूर्ण रूपमा विद्युत् सेवा बन्द भएको छ । 

यस्तै, अविरल वर्षापछि आएको खहरे भेल पस्दा गजुरी गाउँपालिकाको कार्यालय भवन डुबानमा परेको छ । 

प्रकाशित : २०७७ साउन ५ गते २३:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI