आज जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस मनाइदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते ९:३९
आज जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस मनाइदै

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री प्रजातान्त्रीक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहे । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गरे भने २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरे ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुऱ्याएका छन् । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, एवम् बाबु, आमा र छोरा गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह श्वेत भैरवी र दोषी चस्मा, हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता, प्रकाशित छ ।

जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

प्रकाशित : २०७७ साउन ६ गते ९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI