महिलाको ढाडमा अधिकार कस्को ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते ८:३७

“यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।”

ट्वीटरमा सपना सञ्जीवनीले महिलाको लुगामाथि हुने अनावश्यक टिप्पणीको विरोधस्वरुप एउटा मिथिला पेन्टिङ राखेकी छन्, जसमा लेखिएकाे छ- यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।

धादिङमा कार्यरत सरकारी कर्मचारीहरू कार्यालयको कामको सिलसिलामा मोटरसाइकलमा काठमाडौं आउँदा युवतीले लगाएकाे पहिरनकाे तस्वीर सामाजिक सञ्चालमा ‘भाइरल’ भएपछि सामाजिक सञ्जालमा महिलाको मर्यादा बारे विभिन्न टिप्पणी गरिए।  

महिलाको पहिरनलाई सामाजिक मर्यादासँग जोडिएपछि सामाजिक सञ्जालमा यसकाे विराेध हुन थालेकाे छ । विरोधमा कतिपय महिलाले खुला ढाड देखिएका, खुला ढाडमा विभिन्न नारा लेखिएका तस्वीरलाई प्रोफाइल फोटोसमेत बनाएका छन् । कतिले चित्रकला, उदगार लगायत असहमतिका विभिन्न शैली पछ्याएका छन्।

लेखक सावित्री गौतमले राखेको एउटा त्यस्तै तस्वीरमाथि लेखिएको छ, “मेरो ढाडले तिम्रो मर्यादाको ठेक्का लिएको छैन।” 

यसमा पत्रकार बबिता बस्नेतको भने फरक मत छ । उनले ट्वीटमा भनेकी छन्, “महिलाले शरीरभरि लुगा लगाउँदा पनि गाली खाने, नलगाउँदा पनि गाली खाने अचम्मको ‘ट्रान्जिसन’ मा रहेछौं हामी। पोशाक भन्ने कुरा आफूलाई जे सहज हुन्छ त्यो लाउने हो। तर तपाईं त्यो पोशाक लगाएर कहाँ जाँदै हुनुहुन्छ? भन्ने कुराले भने अर्थ राख्छ। औपचारिक र अनौपचारिक स्थान र पोशाक दुवैमा लागू हुन्छ।” 

आफूलाई नारीवादी भनेर ट्वीटरमा परिचय राखेकी बबिता राईले लामो “थ्रेड” मा यस्ता तर्कहरूको एकमुष्ठ जवाफ दिएकी छन्। “महिलाको शरीर र कपडामाथिको आम मानसिकताकै कारण कुन कति स्थानमा हामी कसरी कसरी खुम्चिएर सम्हालिएर हिंड्नु परेको छ, हाम्रो आत्मविश्वास कति स्थानमा खुम्चिएको छ त्यो सम्झदा त आक्रोशको कुनै सीमा हुँदैन र तिमीहरूका सारा नियम संस्कारका विरुद्ध नग्न जुलुस निकाल्न मन लाग्छ।”

राईले अगाडि लेखेकी छन्, “शरीरको एकएक पाटोलाई ‘सेक्सुअलाइज’ गरेर हेरिंदाको डर र असहजता झेल्दै हिंड्दै हामीले जोगाइदिनु पर्ने तिमीहरुको संस्कार, तिमीहरूको पूर्वीय सभ्यता। पुरुषको ‘पोलिटिकल डिबेट’को विषय बन्नलाई महिलाको शरीर कुनै सार्वजनिक स्थान वा वस्तु होइन।”

दोस्रो दर्जाकी रीताले पनि ढाडको तस्वीर राखेर भनेकी छन्, “महिलाको कपडाले सधैं सामाजिक ‘मर्यादा’ राखिदिनु पर्ने होइन त? लु !” ट्वीटमा पछाडि लेखिएको छ, “त्यो पोशाकमा तिमीले मोटरसाइकल चलाएर कुनै गल्ती गरेकी छैनौ, लेडी! तिमी एक्लै छैनौ।”

यसरी राखिएका ढाडका तस्वीरमा ‘मर्यादित ढाड’, ‘अमर्यादित ढाड’ लेखिएका छन्। सामाजिक सञ्जालमा सांकेतिक विरोध गर्नेहरूमा पत्रकार, लेखक, सामाजिक अभियन्ता, साहित्यकार तथा विभिन्न क्षेत्रमा कार्यरतहरू छन्।

‘चोखर वाली’ कथामा आधारित सर्ट फिल्मकी अभिनेत्री राधिका आप्टे

ट्वीटरमै हेमलता राईले ‘एकजनाले ढाड देखिने लुगा लाउनु भो उहाँ अमर्यादित र भद्दा कहलिनु भो, अर्को जनाले घाँटीसम्मै ढाकिने लुगा लगाएर देखिने लुगा नलगाई तीज मनाऔं भन्ने गीत गाउनु भो । उहाँ पनि अमर्यादित र भद्दा नै कहलिनु भो।’ भन्दै मयार्दाको ठेकेदार कोही नभएको टिप्पणी गरेकी छन्।

पत्रकार सेवा भट्टराईले ‘मर्यादित पोशाकका सम्बन्धमा’ भन्दै लामो ट्वीट लेखेकी छन् । ट्वीटमा उनले भनेकी छन्– एक पुस्ता अगाडिसम्म ब्राह्मण महिलाले चोलो नलगाई खाना बनाउनु पर्थ्यो। हामी मध्ये कतिपयले त्यस्ता चोलो नलाउने हजुरआमाहरु भेटेका छौं र शायद कतै कुना काप्चामा कोही अझै पनि हुनुहुन्छ कि?

दोस्रो ट्वीटमा उनले रवीन्द्रनाथ टैगोरको ‘चोखर वाली’ कथामा आधारित सर्ट फिल्मकी अभिनेत्री राधिका आप्टेको साडीले नछोपिएको ढाडको एक दृश्य राख्दै खासमा खाना बनाउने बेलामा मात्रै होइन, सबै बेलामा पनि यस्तो पोशाक चाहिं बढी शोभनीय मानिन्थ्यो, ‘शुद्धता’ का नाममा। यो ‘शुद्धता’ का बारेमा एउटा सिंगो लेख लेखे पनि सकिंदैन, तर त्यो विषय अहिलेलाई छोडौं। अहिले कुरा गरौं पोशाक र मर्यादाको। चोलो लगाएमा त्यो जमानामा अमर्यादित मानिन्थ्यो, बुहारीले कुटाइ खान सक्थिन् र आमाको जात जान सक्थ्यो। तर आज जमाना फेरिएको छ। अंग्रेजले भित्र्याएको ब्लाउज संस्कृतिमा हामी डुबिसकेका छौं र अब हामी ढाड देखिसहँदैनौं।

भट्टराईले निष्कर्ष भनेर लेखेकी छन्– ‘मर्यादित पोशाक’को परिभाषा जमाना अनुसार फेरिन्छ। तर महिलाको शरीरलाई नियन्त्रण गर्न खोज्ने पितृसत्तात्मक स्वभाव भने उस्तै रहन्छ।

प्रकाशित : २०७७ साउन ८ गते ८:३७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI