तीन किलोमिटरसम्म लखेटेर सशस्त्र प्रहरी जवानको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते १३:५३
तीन किलोमिटरसम्म लखेटेर सशस्त्र प्रहरी जवानको हत्या

बोर्डर आउट पोस्ट माडर सिरहामा कार्यरत् सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सिरहा नगरपालिका-३ मखनाहाका २५ वर्षीय जवकेशकुमार यादव, २० वर्षीय दिपेशकुमार यादव र २२ वर्षीय मुकेशकुमार यादव छन्।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए। 

गत असार १६ गते करिब १ बजे महोत्तरी सोनमा गाउँपालिका-३ घर भएका जवान यादवलाई नहरमा डुबाएर हत्या गरिएको थियो।

पक्राउ परेकाहरूलाई उनलाई सामान्य विवादको क्रममा चोर भनी तीन किलोमिटरसम्म लखेटेर नहरमा डुबाएर हत्या गरेको खुलेको छ। 

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यानमुद्दामा थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको छ। सशस्त्र प्रहरी जवान हत्यामा

संलग्न अन्य दुई युवा फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसरी भयो हत्या

सिंहका अनुसार जवान यादव बिदामा थिए। उनी सिरहा नगरपालिका-३ मखनाहाका बिन्दी यादवकी छोरीको बिहेमा गएका थिए। 

२५ वर्षीय यादवको सोही ठाउँकी एक युवतीसँग प्रेम सम्बन्ध थियो। जुन कुरा ती युवाहरूलाई मन परेको थिएन।

बिहेमा आएको बेला उनीहरूले त्यही कुरा निकालेर वादविवाद गर्न थाले। विवादका क्रममा हात हालाहाल भएपछि यादव भागेका थिए।

तर, युवकहरूले उनलाई चोर-चोर भन्दै तीन किलोमिटरसम्म लखेटेर र समाते। त्यसपछि उनलाई नहरको पानीमा डुबाएर हत्या गरे। 

‘स्थानीय युवतीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि ती युवाहरूले सो सम्बन्ध मन नपराएको र त्यही निहुँमा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डिआइजी सिंहले आयोमेलसँग भने। 

‘जवानलाई यतिसम्म लखेटेको देखिन्छ कि उनलाई ३ नम्बर वडाबाट १४ नम्बर पुर्‌याएर समातेको पाइन्छ,’ सिंहले भने। वडा नम्बर १४ को खिरौनास्थित नहरको पानीमा उनलाई डुबाएर हत्या गरिएको सिंहले बताए।

प्रकाशित : २०७७ साउन ८ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI