नारायणी नदीमा दाउरा छोप्ने क्रममा चिप्लिएर एक व्यक्ति बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ९ गते १४:२५
नारायणी र राप्ती नदी तटबन्धका लागि ...

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि गत साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो । उनी पनि अझै फेला परेका छैनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजीकार्यलाई अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनि जनधनको क्षति हुने गरेको छ ।रासस

प्रकाशित : २०७७ साउन ९ गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI