रातो मच्छिन्द्रनाथको रथारोहण गरिदै, २० जना मात्र सहभागी हुन पाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १० गते १३:०७
रातो मच्छिन्द्रनाथको रथारोहण गरिदै, २० जना मात्र सहभागी हुन पाउने

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । 

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागी सकेको छैन ।” रथारोहणका लागि शुक्रबार नै पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए । 

हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

 यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

प्रकाशित : २०७७ साउन १० गते १३:०७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI