कालीकोटमा पहिराे : ६ जना बेपत्ता, १ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १३:२७

लगातारको वर्षापछि पहिरो जाँदा कालीकोटमा ठूलो जनधनको क्षति भएको छ । सोमबार राति गएको पहिरोले ६ जना बेपत्ता, २ जना घाइते र ४ जनाको घर बगाएको छ । 

जिल्लाको रास्कोट नगरपालिका-१ वहल्तोलामा पहिरोले घर बगाउँदा एकै घरका ४ सहित ५ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जयबहादुर शाहीको घर बगाउँदा उनको परिवारसहित पाहुना आएका आफन्त बेपत्ता भएका हुन् ।  

घरमा सुतिरहेको अवस्था पहिरोले घर बगाउँदा घरमुली ५० वर्षीया जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौसी शाही, ८ वर्षीया छोरा नविन शाही र भदै नाता पर्ने डम्बरबहादुर शाहीकी १५ वर्षीया छोरी अस्मिता शाही बेपता भएको सूचना अधिकारी जोशीले जानकारी दिए । 

रास्कोट नगरपालिका-९ फुकुगाड खोलामा आएको बाढीले सोही वडाका बिष्णु बुडथापा र पदमबहादुर बुडथापाको घर बगाएको र कर्णाली करिडोरको फुकुगाड खोलामा रहेको बेलीब्रीज भत्काएको सूचना अधिकारी जोशीले बताए । 

सोही वडाकै तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्न आएकी महावीर शाहीकी १४ वर्षीया छोरी वेलपुरा शाहीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । 

उनका अनुसार सो घटनामा टेकबहादुरकी श्रीमती मयसरा टमटा र छोरी यसोदा घाइते भएका छन् । 

प्रकाशित : २०७७ साउन १३ गते १३:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI