अब विद्यालयलाई क्वारेन्टिन र आईसोलेसन बनाउन नपाईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १६:१५
अब विद्यालयलाई क्वारेन्टिन र आईसोलेसन बनाउन नपाईने

काठमाडौं। विद्यालयमा अबदेखि कोभिड-१९ बारे कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने भएको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयमा रहेको क्वारेन्टिन तथा आइसोलेसन हटाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

आज पत्रकार सम्मेलन गरेर प्रत्तक्ता खतिवडाले अबदेखि विद्यालयहरूमा क्वारेन्टिन तथा आइसोलेन निर्माण नगर्ने निर्णय सरकारले गरेको बताएका हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अहिले क्वारेन्टिन र आइसोलेसन रहेका विद्यालयमा डिसइन्फेक्टेड गरेर मात्र विद्यालय खोल्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। 

भदौं १ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैंछ। विद्यार्थी भर्नासँगै कक्षागत विद्यार्थीको संख्या यकिन र भर्ना भएका विद्यार्थीको तथ्यांक भर्ने, भदौं १ गते अगावै सम्पूर्ण शिक्षकहरू विद्यालयमा पुगिसक्नुपर्ने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए तत्काल उपलब्ध गराउने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ। 

विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

त्यस्तै शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न विद्यालयहरूलाई समेत आग्रह गरेको छ।  

प्रकाशित : २०७७ साउन १५ गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI