इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १७ गते १७:४४
इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

१७ साउन, विराटनगर । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । उनले भने ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आयो ।’

यससँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ । संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।

ब्यारेकमा कसरी फैलियो कोरोना ?

स्वास्थ्य कार्यालय प्रमुख दासका अनुसार ब्यारेकमा कार्यरत सशस्त्र प्रहरी क्वारेन्िटन स्थलको सुरक्षामा पनि खटिएका थिए ।

क्वारेन्टिनकै सुरक्षामा खटिएका एक सैनिकमा कोरोना देखिएको थियो । उनले भने ‘संक्रमित व्यक्तिको सम्पर्कमा सशस्त्रका केही कर्मचारी रहनुभएको रहेछ । कन्ट्रयाक ट्रेसिङ गरी परीक्षण गर्दा पोजेटिभ देखियो ।’

यसका साथै सशस्त्र प्रहरीको टोली नाकाको सुरक्षाका लागि खटिएको छ । त्यसक्रममा पनि संक्रमित भएको हुनसक्छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय इटहरीका डीआईजी वंशीराज दाहाल नाकामा खटिएको सुरक्षा युनिट संक्रमणको जोखिममा रहेकेा बताउँछन् । इलाममा र झापामा सशस्त्र प्रहरीमा संक्रमण देखिएको बताउँदै उनले सुरक्षाका लागि खटिँदा आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको बताए ।

प्रकाशित : २०७७ साउन १७ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI