No ads found for this position

स्टाफ नर्समा कोरोना संक्रमण, धौलागिरी अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १२:४४
No ads found for this position
स्टाफ नर्समा कोरोना संक्रमण, धौलागिरी अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द
No ads found for this position

बागलुङ, २१ साउन । बागलुङको धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा कोरोनाको केही लक्षण देखिएको र शंका लागेर स्वाब परीक्षणका लागि पठाएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । उनी भन्छन्, ‘नतिजा पोजेटिभ आएपछि तत्काल उहाँलाई आइसोलेसनमा राखेर ओपीडी बन्द गरेका छौं ।’

२५ वर्षीय संक्रमित स्वास्थ्यकर्मीसँग कार्यरत अर्की स्टाफ नर्सलाई पनि क्वारेन्टिनमा पठाइसकिएको डा. पोखरेलले बताए । उनले भने, ‘उहाँमा सिम्टम्स छैन । तर, पनि क्वारेन्टिनमा राखेर स्वाब परीक्षणका लागि पठाइसक्या छौं ।’ नर्सको ड्युटी समयमा त्यहाँ २ जना मात्रै स्वास्थ्यकर्मी रहने उनले बताए ।

पोखरामा ९ जना संक्रमित
पोखरा महानगरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा महानगरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा १७ देखि ५७ वर्ष उमेर समूहका छन् । उनहरुमध्ये ४ जना भारतबाट, ३ जना बाराबाट, २ जना महोत्तरीबाट र एकजना सर्लाहीबाट पोखरा आएको महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘उहाँहरुमध्ये ७ जना क्वारेन्टिनमा र २ जना होम क्वारेन्टिनमा हुनुहुन्थ्यो,’ आचार्यले भने, ‘संक्रमण पुष्टि भएपछि अब उहाँहरुलाई जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।’ उनले सबैको संक्रमितको अवस्था सामान्य रहेको सुनाए ।

संक्रमितको सम्पर्कमा आएका ३६ जनाको स्वाब परीक्षण हुँदै
साउन १८ गते बिना ‘ट्राभल हिस्ट्री’ कोरोना संक्रमण पुष्टि भएका पोखराका ६२ वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण शुरु भएको छ । पोखरा १९ का ती पुरुष सामान्य रुघाखोकी लागेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरेका थिए ।

ती संक्रमितसँग सम्पर्कमा आएका पहिलो चरणमा ३६ जनाको स्वाब परीक्षण थालिएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । ‘आजबाट परीक्षण सुरु गरेका छौं । सम्भवतः साँझ या भोलिसम्म रिजल्ट आउँछ होला !’ उनले भने ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ । जसमध्ये कोरोना संक्रमणबाट निको हुनेको संख्या १३५४ छ । गण्डकीमा चारजना कोरोनो संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ साउन २१ गते १२:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI