No ads found for this position

कोरोना संक्रमितलाई अस्पतालहरुमा छैन ठाउँ : बेड भरिए, क्षमता बढाइएन

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १३:०९
No ads found for this position
कोरोना संक्रमितलाई अस्पतालहरुमा छैन ठाउँ : बेड भरिए, क्षमता बढाइएन
No ads found for this position

विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट संक्रमितलाई उपचारका लागि बनाइएका अस्पताल र आइसोलेसन सेन्टर अहिले भरिभराउ छन् ।

सरकारले व्यवस्थापन गरेका अस्पतालमा शय्या अभाव हुँदा धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लोपटक फेला परेका संक्रमित अस्पतालमा शय्या नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ ।

प्रदेश १ सरकारले संक्रमितहरुको उपचारका लागि विराटनगरमा कोसी कोभिड १९ उपचार केन्द्र, धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको छात्रवास आइसोलेन, उदयपुरको चौदण्डीगढी आइसोलेसन, खोटाङ जिल्ला अस्पताल र ताप्लेजुङ अस्थायी केन्द्र तोकेको छ । मेची अस्पताल झापामा समेत मंगलबारबाट आइसोलेसन सञ्चालनमा आएको छ । तर, अस्पताल र उपचार केन्द्रहरुमा संक्रमित भरिभराउ छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमित थपिने क्रम सुरु भएसँगै अस्पतालमा शय्या अभाव हुन थालेको हो । मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्वास्थ्यविज्ञ सुरेश मेहता भन्छन्, “पहिलो लक्षणविहीन बिरामी आउने गरेकामा हिजोआज लक्षणसहितका बिरामीको समेत चाप बढ्न सुरु भएको छ । सरकारले तोकेका अस्पतालहरुमा बिरामी थपिएसँगै शय्या अभाव हुन थालेको हो ।” उनले अहिले प्रदेश १ मा दैनिक करिब एक हजार स्वाब परीक्षण भई नतिजा आउन थालेपछि संक्रमितको संख्यासमेत बढ्न थालेको सुनाए ।

प्रदेश १ मा पछिल्लो समय समुदायस्तरमा संक्रमितहरु देखिन थालेका छन् । धेरैको संक्रमणको स्रोतसमेत खुल्न सकेको छैन । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा ५७, मोरङ गोठगाउँमा १०८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३७, उदयपुरको चौदण्डिगढीमा ७, खोटाङ जिल्ला अस्पतालमा एक र ताप्लेजुङमा चारजना उपचाररत छन् । खोटाङ र ताप्लेजुङ अस्थायी उपचार केन्द्र मात्र हुन् ।

आईसीयू र भेन्टिलेटरसहितको शय्या व्यवस्थापन तथा संख्या थप गर्नुपर्ने अवस्थासमेत देखिएको भन्दै चिकित्सकले सरकारलाई यसबारे ध्यानाकर्षणसमेत गराएका छन् । ‘लक्षणसहितको बिरामी बढ्न थालेकाले धेरैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुँदा तत्कालै अब अस्पतालहरुको क्षमता वृद्धि गर्नुको विकल्प नरहेको’ विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देल बताउँछन् । लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएका बिरामीलाई आइसोलेसनमा राख्दासमेत रुटिनको खाना र हेरचाहबाहेकको व्यवस्थापन गर्नुपरेको थिएन । तर, अहिले पनि उपचारकै प्रबन्ध गर्नुपर्ने भएपछि सरकारले अस्पतालको क्षमता विस्तार गर्नुपर्ने अवस्था आएको हो । सरकारले प्रदेशभर एकैपटक अस्पताल भर्ना हुँदा ३०५ जनालाई मात्र व्यवस्थापन गर्न सक्ने गरी प्रबन्ध गरेको छ ।

विराटनगरमा थपिँदै संक्रमित
विराटनगरमा थप दुई सय क्षमताको आइसोलेसन शय्या थप्ने तयारीसमेत थालिएको छ । समुदायस्तरमै कोरोना गएपछि भने विराटनगर महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उच्च ओहोदाका व्यक्तिसमेत संक्रमित भएका छन् ।

जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की भन्छन्, “परीक्षणको दायरा फराकिलो भएसँगै दैनिक संक्रमित थपिँदो छन् तर उनीहरुको उपचार र अस्पताल भर्नाको विषय भने कठिन हुँदै गएको छ ।” कार्कीले अस्पतालको क्षमता विस्तार गर्नुको विकल्प नभएको र दैनिक दुई सयजनाको पीसीआर परीक्षण गरिरहेको बताए ।

महानगरपालिकाले दैनिक पाँच सयजनाको पीसीआर परीक्षण गर्न जोड दिइरहेको छ । परीक्षणलाई वडा-वडा र समुदायस्तरमा लैजाने महानगरको तयारी रहेको मेयर भीम पराजुलीले बताएका छन् । विराटनगरमा दैनिक औसत रुपमा १० देखि १५ जना संक्रमित थपिने क्रम सुरु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११७१ जना पुगेको छ । कोरोनाबाट प्रदेश १ मा चारजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७७ साउन २१ गते १३:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI