देश हाँक्छु भन्नेहरु संग अपिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १६:३८
shreedhar lamichhane
लेखक- श्रीधर लामिछाने

आज हाम्रो देश आन्तरिक र बाह्य दुवै खाले समस्या संग जुधिरहेको छ। आन्तरिक रूपमा नियमित भन्दा फरक एक प्रकारले विश्वका बाँकी मुलुकहरुले जस्तै कोरोना बाट प्रताडित भएको छ अनि बाढी र पहिरोले लखेटी रहेको छ। सधै गिद्दे दृष्टि लगाइरहने भारतले फेरी एकपटक नेपाल र नेपालीको अस्मिता लुट्न खोजिरहेको छ। यस सन्दर्भमा त आम नेपाली एक भएका छन् तर भारतका शासकहरु फुटाउ र राज्य गर को सिद्धान्तको प्रयोग गर्ने कोशिसमा छन्। सलहले पनि झन्डै देश थला पर्र्यो। बाढी र पहिरोले लखेटी रहेको छ। अनि यहि वेला कसै बाट निर्देशित हो या स्वतस्फुर्त सत्तालिप्सा भएकाहरूको कुर्शी मोहको लडाई त्यो पनि पटक पटक सत्ता र शक्तिमा पुगेका बाटै कहिले एक्ला एक्लै कहिले मिलेर छिनाझपटी भैरहेको यो परिदृश्य सारै घिन लाग्दो, वाक वाकी लाग्दो, लाज लाग्दो भएको छ। कहिले बहुमतको सरकार आउला र आनन्दले देश विकास मात्र एक एजेन्डा भएर देश अगाडी बढ्ला भनेर आम जनता ले यति धेरै भोट एउटा दल लाइ दिएका हुन् नकी यस्तो झगडा हेर्न।

के गरे नेपालको दिगो विकास होला भन्ने कुरामा, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको पिडा लाइ कसरी कम गर्न सकिएला भन्ने कुरामा, आम नेपाली जनताको समय र शक्ति पूर्ण रूपमा परिचालन गराउने कुरामा अर्थात् आम नेपाली लाइ उसको क्षमता र अनुभवको आधारमा परिचालित गर्ने रोजगार गराउने काममा वा आम युवा लाइ कसरी पूर्ण रोजगार बनाउन सकिन्छ भन्ने कुरामा, माल्दिभ्समा जस्तो १ जना नागरिक ले तिन जना पर्यटक भित्र्याउन कसरी सक्छन भन्ने रणनीति तयार गर्ने कुरामा, कसरी आमा र शिशु मृत्युदर लाई न्युनतममा झारी अन्तर्राष्ट्रिय स्तरमा उचाल्ने कुरामा, स्वास्थ्य सेवा लाइ कसरी बेलायत, क्यानाडा र अष्ट्रेलियाको हाराहारी ल्याउन सकिन्छ भन्ने कुरामा देशको सबै मानिस देशको लागि महत्वपूर्ण शक्ति भन्ने कुरा सुनिश्चित गर्न पूर्वाधार तयार गर्ने कुरामा यो र यस्तै विषयमा नेताका झगडा भएको भए  सायद आम नेपाली अति खुसि हुनेथिए।

पूलहरु हस्तान्तरण नहुँदै भत्किन्छन्, बाटोहरु पिच गर्न नपाउंदै उक्किन्छन्, सरकारी भवन बनि सक्दा नसक्दै ढल्छन अनि जिम्मेवारी लिने कोहि हुदैनन्। मेलम्ची खाने पानि एउटा राम्रो उदाहरण छ ३० वर्षमा पनि नसकिने बरु बारम्बार भत्किरहने, यसको स्थाई निराकरण कहिले खोजि पस्नु भएको छ? अनि भ्रष्ट मन्त्रि र ठेकेदार संग साँठगाँठ कहिले छोड्ने कमिसन तन्त्र कहिले तोड्ने?

विश्व समुदाय ले पनि आ-आफ्नो अनुभव साधन र स्रोत दिन बल गर्थ्यो अनि अझ वलिदानी भावनाको विकास हुन्थ्यो तर अहिले हाम्रो नेताहरुको झगडा विल्कुल व्यक्तिगत स्वार्थपरस्त छ।     

जनता गरिबीले थलिएका छन् त्यस मध्ये पनि कोरोनाबाट कहिले त्राण पाइएला भनेर कुरेका छन्। अनि बाढी र पहिरो बाट आफु र आफ्ना वच्चाको कसरी ज्यान जोगाउँ भनेर रात भरि अनिदो बस्नेहरू छन्। कहिले भूइचालो बाट त कहिले आंधी बतास बाट अनि कहिले आगोलागी बाट त कहिले महामारी र अनिकाल बाट त्रसित र ग्रसित भएर बाँच्न बाध्य जनतालाइ हाम्रा नेता भनाउदाहरु भने सत्तामा जान नाङ्गो नाच देखाई रहेका छन्। यो भन्दा अर्को बिडम्बना के हुन सक्छ? शर्म लाग्दो कुरा के हुन्छ?

यस्तो अवस्थामा म विशेषतः सत्ताको छिनाझपटिको घीन लाग्दो खेलमा हात धोएर लागेका त्यो पनि प्रधानमन्त्री र पार्टीको नेतृत्व लामो समय सम्हाली सकेका नेतासंग केही प्रश्न गर्न चाहन्छु। ति नेता हुन् प्रचण्ड-माधब नेपाल, र झलनाथ खनाल। त्यसैगरी यी प्रश्न म मात्र सक्षम, मेरो मात्र सबै कुरा हुनुपर्छ भन्ने प्र. म पदमा पदासिन कुर्सि मै लिसो हुन चाहने ओली लाइ। त्यस्तै यी प्रश्न भोलिको सम्भावित सरकार र पार्टीको नेतृत्वको दावी गर्नेहरू लाइ पनि हो। यो प्रश्न केवल मेरो मात्र हैन दुखै:दुखले ग्रसित पीडित निमुखा जनताको तर्फ बाट मैले अघि सारेको मात्र हुँ ।

तपाई हिजो प्रधानमन्त्री र पार्टीको प्रमुख हुँदा देश र जनताको निमित्त के-के गर्नु भयो सबै जना लाइ थाहा छ। सायद त्यति बेला अहिले भएका जति पनि काम भएका थिएनन्। अब फेरी प्रधानमन्त्री हुँदा जनताको निमित्त चाँही के गर्नु हुन्छ भन्ने पनि प्रष्ट छैन अनि फेरी म मात्र शक्तिमा हुनु पर्छ भन्नु को अर्थ के भो?

के प्रधानमन्त्री र पार्टी प्रमुख भै सकेकाहरुको मुख्य उद्देश्य आफु शक्तिमा सधै रहिरहनुपर्छ भन्ने मात्र हो?

देशले अहिले कोरोनाको सहि व्यवस्थापन, सलहबाट खेतीको बचावट, बाढी पहिरो नियन्त्रण र तिनको दिगो व्यवस्थापन गरि पीडितको उचित गास वास र कपासको सुनिश्चितता गर्नु, भारत संग सके सम्म  कुटनीतिक पहल नभए उपयुक्त उपाय बाट सिमाना, पारबहन, व्यापार जस्ता समस्या सुल्झाउन सबै दलसंग काँधमा काँध मिलाएर सबैलाई साथ लिएर जानु आवश्यक छ न कि यहि नै बेला पदमा लाछ्चडी गरि अस्थिरता तर्फ देश लाइ धकेली “भाइ फुटे गवाँर लुटे” गराउने?

अहिले त कम से कम साझा सवालमा सके सबै दल र नसके दलभित्रकै पुर्व पार्टी प्रमुख एवम् वर्तमान र भू.पु. प्रधानमन्त्री मिलेर उचित रणनीति तयार गरि अरुले प्रश्न उठाउने ठाउँ नै नदिएर स्यावासी बटुल्ने बेला हैन?     

बरु तपाई चारै जना मिलेर स्थानीय तह देखि देश हाक्न सक्ने असल, चरित्रवान, सक्षम, कर्तव्यनिस्ठ, कर्मठ युवा नेतृत्व विकासमा लग्नु पर्ने हैन? कि सधै आफैलाई नेता बनाइ राख्ने स्वार्थि गुट उपगुट खडा गरेर जालझेलको खेल सिकाइरहने? अहिलेको तपाईँहरुको यो चरित्रले भोलि कस्तो नेतृत्वको जन्म देला? तपाईहरुको यो काम ले नयाँ पिंढीले के सिक्ने?

देश भित्र आम युवा वेरोजगारीको शिकार भएका छन् फलतः उनीहरु विदेशिनु बाध्यता छ, रेमिट्यान्स बाट मात्रै देशको अर्थतन्त्र कतिजेल चल्ला? बरु सबै दलका असल अनुभव र सिकाइ एकै ठाउमा राखी रणनीति तय गरेर कार्यन्वयन गरे कसो होला?

देश बाट युवा पलायन हुँदा खेत बारी बाँझो पल्टिरहेको छ अनि हामी सबै खाद्यान्न समेत सधैं पैठारी गर्नु पर्ने बाध्यतामा छौ। खेतवारी हराभरा के कसरी पार्न सकिन्छ ताकी खाद्यवस्तुमा आत्मनिर्भर हुन सकियोस। त्यसको बदला गाउँ देखि केन्द्र सम्म झगडामा मात्र तगडा दल भैरहने?

निजि क्षेत्रले मनपरि ढंगले संचालन गरेको, सरकारी शिक्षा गुणस्तरहीन भएको,  शिक्षक केवल तलब र सुबिधा मात्रमा ध्यान दिने शिक्षण संस्थान्हारुलाई कहिले ठिक ठाउँ र ढंग बाट परिचालन गर्ने? अझ कोरोनाले थिलो थिलो परेको वाल मनोविज्ञान अब के होला कस्तो स्तरको शिक्षा प्राप्त गरेका होलान? त्यसको निराकरण को उपाय के हो सोच्नु भएको छ तपाईँहरुले?

देशमा स्वास्थ्य सेवाकर्मीको उचित व्यवस्थापन नहुँदा हजारौँ अनुभवी स्तरीय स्वास्थ्य जनशक्ति पलायन भएको छ। दैनिक हजारौँ नेपालीले भने उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ। त्यस्ता दिन हिन नेपाली लाइ उचित उपचार कसरी शुनिश्चित गर्ने सोच्नु भएको छ?

सबै न्यायालय र तिनका न्यायाकर्मीहरु प्रति उनका अनैतिक र भ्रष्ट आचरणले गर्दा न्याय पाउनु पर्ने पक्ष सदा पीडित हुँदै आएको छ। समयमा न्याय पाउने कुरा त टाढाको कुरा भएको छ। यस्ता  सवालमा त कहिले तपाईहरुको छलफल भएको थाहा छैन। यस्ता विषय के पशुपतिनाथको जिम्मा लगाउनु भएको हो?

पूलहरु हस्तान्तरण नहुँदै भत्कंछन, बाटोहरु पिच गर्न नपाउंदै उक्किन्छन्, सरकारी भवन बनि सक्दा नसक्दै ढल्छन अनि जिम्मेवारी लिने कोहि हुदैनन्, मेलम्ची खाने पानि एउटा राम्रो उदाहरण छ ३० वर्षमा पनि नसकिने बरु बारम्बार भत्किरहने, यसको स्थाई निराकरण कहिले खोजि पस्नु भएको छ? अनि भ्रष्ट मन्त्रि र ठेकेदार संग साँठगाँठ कहिले छोड्ने कमिसन तन्त्र कहिले तोड्ने?

म एउटा सामान्य नागरिकको हैसियतले तपाईहरुको आत्मकेन्द्रित शक्ति संघर्ष बाट आजित भएको छु। मर्माहत भएको छु। तपाईहरुको मुख हेर्नु त के नाम सम्झंदा पनि घिन लाग्छ, वाकवाकी आउँछ। कृपया अमर रहने हो भने अहिले देश र जनताको हित मात्र तपाईहरुको एजेन्डा बनोस हैन भने जनताले पनि अब त्यसको हिसाब किताव माग्ने बेला भएन र?  तपाइहरुलाई कुनै पनि बेला जनकारबाही किन नगर्ने?

कृपया माथिका प्रश्नहरुको उत्तर दिनुहोस सार्वजनिक रूपमा हैन भने जनताले एकदिन तपाईहरुको उपयुक्त उपचार गर्नेछन। त्यतिवेला पछुताउनु मात्र पर्ला।

सिनामंगल, काठमाडौँ (हाल अमेरिका) 

प्रकाशित : २०७७ साउन २१ गते १६:३८
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI