मास्कको प्रयोग र विसर्जन उचित नहुँदा जोखिम बढ्दो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ४ गते २०:०२
मास्कको प्रयोग र विसर्जन उचित नहुँदा जोखिम बढ्दो

काठमाडौं- कोरोना भाइरस संक्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ। मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ। यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ। यसरी मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन्।

मास्कको भित्री भागमा थुक, र्‍याल, सिगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ। कोरोना सङ्क्रमणसँगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो। आम नागरिकले मास्कको उचित प्रयोग र विसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र विसर्जन राम्रो नभएको बताए। मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ। उनले भने‚ ‘कतिपयले बोल्दा मास्क खोल्ने गर्छन्। त्यो झन् खतरा हो।’ बोल्दा मुखबाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ। अप्ठ्यारो शब्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ।

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन विज्ञहरुको सुझाव छ। मास्कको बाहिरी भागबाट अझ बढी संक्रमित हुन सक्ने विज्ञहरु बताउँछन्। अन्य सङ्क्रमितसँग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको बाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग गर्‍यो, त्यति नै सङ्क्रमण हुने सम्भावना बढी हुने जानकारी दिए। यसको उचित व्यवस्थापन हुन नसकेमा संक्रमण फैलन सक्ने उनको भनाइ छ। ‘मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरुपमा स्यानिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ,’ डा अग्रहरी भन्छन्, ‘मास्क खोल्दा कान पछाडिको डोरी समातेर कानबाट निकालेर बाहिरको भागलाई भित्र पारेर गोलो बनाएर बिर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ।’ डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टबिन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाव दिए।

मास्कमा किटाणु ३/४ दिनसम्म रहने उनको भनाइ छ। नेपाल चिकित्सक सङ्घ चितवनका सह सचिव समेत रहेका डा अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुने बताउँछन्। खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालोलगायतले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, पानीमा बगेर संक्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उनको भनाइ छ। मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्छन्। उनका अनुसार ४/५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ। माटोमा २/४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ।

अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन-९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ। सर्जिकल एक पटक प्रयोग गर्न उनको सुझाव छ। एन-९५ मास्क भने चार वटा किनेर चार दिन बिराएर प्रयोग गर्न सकिने डा अग्रहरी बताउँछन्। उनका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ।

उनले आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सकेमा संक्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए। मास्कको प्रयोग र विसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उनले जोड दिए।

प्रकाशित : २०७७ भदौ ४ गते २०:०२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI