घाटमा आयो संक्रमणको खबर, ४०० मलामी भागाभाग

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते ९:५१
घाटमा आयो संक्रमणको खबर, ४०० मलामी भागाभाग

बुटवल : कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेको छ। कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ। तर, रूपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल भएका छन्।   स्वास्थ्य संवेदनशीलतामाथि खेलवाड र निर्देशन अवज्ञा गर्दै स्थानीय तहका जनप्रतिनिधिसमेत मलाम पुगे। रूपन्देहीको रोहिणी–३, धकधई निवासी नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मि श्रको दाहसंस्कारमा ठूलै भीड उर्लियो।

 

मधुमेह र उच्च रक्तचापको समस्या भई केही दिनदेखि बिरामी परेका उनलाई शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहामा मृत्यु भयो। मृत्युपछि उनमा कोरोना छ छैन भन्ने आशंका गर्दै बुटवलको निजी प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको थियो।

स्वाब परीक्षणको रिपोर्ट नआउँदै परिवार र आफन्तहरूले शवको अन्तिम संस्कार सुरु गरे। आइतबार बिहान ११ बजेतिर शव घरबाट घाटतर्फ लगियो। परिवार, आफन्तसहित झन्डै ४ सय जति मलामी शवको पछि लागे। जलाउनै लाग्दा उनमा कोरोना पोजेटिभ आएको खबर रोहिणी घाटमै पुग्यो। मलामी भागाभाग गरे।

मलामी पुगेका रोहिणी गाउँपालिका— ३ का अध्यक्ष वीरबहादुर क्षेत्रीले शव जल्न थालेपछि मात्रै कोरोना पोजेटिभको खबर आएको दाबी गरे। ‘हामीले धेरै भीडभाड नगर्नुस्, मलामी धेरै जानु हँुदैन भनेकै थियौं। तर मान्छेहरू आउने जाने गरिरहेका थिए,’ उनले भने।

प्रयोगशालाले आइतबार मध्याह्न कोरोना पोजेटिभ रिपोर्ट दिएको थियो। स्वाब परीक्षण गरेकाले सरकारी निकायले त्यसको प्रतीक्षा गरेको थियो। कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोलीले उनको शव सुरक्षितसाथ व्यवस्थापन गर्ने योजना बनाइरहेको थियो। तर परिवार र आफन्तले आइतबार मध्याह्न उनको शव रोहिणी घाटमा दाहसंस्कारका लागि पु¥याए।

स्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले उनमा कोरोना पुष्टि भएपछि नजलाउन आग्रह गरिएको बताए। ‘हामीले शव नजलाउनुस् भनिरहेका थियौं,’ उनले भने। कोरोना संक्रमितको शव सुरक्षा मापदण्डसहित गाड्ने गरिएको छ। उनको शव भने जलाइएको छ। त्यसबाट संक्रमण गाउँभरि फैलने त्रास बढेको छ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवका अनुसार चितामा राखेर जलाउनै लागेका बेला कोरोना पोजेटिभको नतिजा आएको थियो। ‘लास चितामा राखेका बेला उनमा कोरोना छ भन्ने खबर आएको थियो। नजिक भएकाहरू टाढाटाढा भागे। आफन्तले आगो लगाए,’ उनले भने।

मृतकको घर धक्धई बजारमै छ। उनको शव रातभर घरमै राखिएको थियो। समवेदना दिन कैयौं मानिसको जमघट भएको थियो। पालिकाले कोरोना पोजेटिभ आएपछि त्यो क्षेत्रमा सिल गरेको छ। ‘डिसइन्फेक्सन’ समेत गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

साउनको अन्तिम साता बुटवलमा पनि करिब १ सय ५० जना मलामी गएका थिए। कालिकानगरकी एक महिलाको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। तर कोरोना परीक्षण गरिएन। तिनै महिलाका आफन्तमा कोरोना देखिएको थियो। अहिले मलामी गएका, आफन्त, नाताकुटुम्ब, पण्डितहरूसमेत गरी ४० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : २०७७ भदौ ८ गते ९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI