No ads found for this position

रक्तदान गर्दा केही हानी हुन्छ ? यस्तो छ भ्रम र सत्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते १८:४२
No ads found for this position
रक्तदान गर्दा केही हानी हुन्छ ? यस्तो छ भ्रम र सत्य
No ads found for this position

डा. शंकर गौतम

हामीले सुन्ने गरेका छौं, रक्तदान जीवनदान ।  रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले जीवन पाउँछ । हामीलाई थाहा भएको यत्ति हो । यद्यपि हामीले रक्तदान कस्तो अवस्थामा गर्न सक्छौं, रक्तदान गरेपछि हाम्रो शरीरलाई फाइदा/बेफाइदा के हुन्छ, हामीले गरेको रगत कहाँ, कसरी प्रयोग हुन्छ ? यावत् जिज्ञासा मेट्नका लागि यो सामाग्री पेश गरिएको छ ।

रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन ।

किनकी एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ ।

जब शरीरमा रगतको कमी हुन्छ, तब शरीरमा रातो रक्तकोषिका कम हुन्छ तसर्थ शरीरले त्यसको परिपूर्ति गर्नु आवश्यक ठान्छ । मिर्गौलामा भएका विशेष प्रकारका कोषिका (पेरीटुबुलर कोषिका) ले रगतमा अक्सिजनको अभाव महसुस गरेर एरिरोपोपेटिन नामक प्रोटिन निकाल्छ जुन रक्तमाध्यमबाट मज्जा (बोनम्यारो) सम्म पुग्छ ।

त्यसपछि मज्जाले स्टेम कोषिका निर्माण गरी विभिन्न प्रकारका कोषिका निर्माण गर्छ र एरिरोपोपेटिनले स्टेम कोषिकालाई अन्य कोषिका भन्दा अझ बढी रक्त कोषिका निर्माण गर्न लगाउँछ । यसरी शरीरमा उत्पादन हुने रगत विभिन्न ए, बी, एबी, ओ लगायतका रक्तसमूहमा विभाजित हुने गर्दछ । कुनै पनि व्यक्तिले रगत दान गर्दा उनीहरुको रक्तसमूह अनुसार त्यसको वर्गीकरण गरिन्छ ।

रक्तसमूह जे जस्तो भएपनि रक्तदान गर्नु पूर्व रक्तदाताहरुले भने केही कुराहरुमा ध्यान दिन आवश्यक छ ।

रक्तदान गर्नु अघि ध्यान दिनु पर्ने कुरा

रक्तदान गर्नु पुर्व विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ । जुन यस प्रकार छ –

  • सात्विक भोजन गर्ने,
  • कसैको बारेमा नराम्रो नसोच्ने (सात्विक मन गर्ने)
  • तनावमा नरहने
  • रिल्याक्स भएर बस्ने
  • रक्त दान गर्नु २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धुमपान तथा मदिरापान नगर्ने
  • धेरै बेर नउभिने, आराम गर्ने
  • चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने
  • प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने
  • दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्ने

रक्तदान गरेपछि के नगर्ने ?

धेरै मानिसहरुलाई रक्तदान गरेको केही समयमै कमजोरी महसुस हुने गर्छ । जबकी रक्तदान गर्दैमा कमजोरी महसुस भने हुँदैन । किनकी जब रक्तदान गरिन्छ, रक्तदान गरेलगत्तै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने गर्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुनासाथ शरीरमा अक्सिजनको मात्रा स्वतः कम हुने गर्छ । र, मानिसलाई रिङ्गटा लागेजस्तो, झम्म भएजस्तो हुने गर्छ । जुन क्षणिक हो ।

त्यसैले रक्तदान गरेलगत्तै व्यक्तिलाई जरुक्क नउठ्न सल्लाह दिने गरिन्छ ।

त्यस्तै, प्रशस्त मात्रामा फलफूलको जुस, जीवनजल लगायतका झोलिलो पदार्थ सेवन गर्न तथा रक्तदान गरेको कम्तीमा १५ देखि २० मिनेटसम्म आराम गर्ने सल्लाह दिने गरिन्छ ।

रक्तदान गर्ने व्यक्तिलाई किन हुन्छ कमजोरी महसुस ?

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ ।

एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुन: निर्माण भैसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।

रक्तदान गर्नुपूर्व वा गरेपछि के खाने  ?

  • सागसब्जी बढी खाने
  • आइरन पाइने खानेकुरामा बढी जोड दिने
  • भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने
  • अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
  • अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने
  • आयुर्वेदमा आधारित रक्तवर्धक औषधीको सेवन गर्नु राम्रो मानिन्छ ।

कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?

एक पटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रगत दिनु हुँदैन । १८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा, व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहाेस हुने समस्या भएमा पनि रगत दान गर्नु हुँदैन ।

यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान नगर्न सल्लाह दिइने गरिन्छ ।

त्यस्तै, हेभी एक्सरसाइज गर्नेलाई पनि एक्सरसाइज गरेको कम्तीमा १-२ घण्टासम्म रक्तदान नगर्न सल्लाह दिने गरिन्छ ।

प्रकाशित : २०७७ भदौ ८ गते १८:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI