लमजुङमा एकैपटक १७ नेपाली सेनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते ८:५६
लमजुङमा एकैपटक १७ नेपाली सेनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बुधबार एकै पटक २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पोखराका दुई जनासमेत छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ७ः१५ बजे दिएको जानकारी अनुसार गण्डकीका तीन जिल्ला कास्की, लमजुङ र नवलपरासी पूर्वमा २३ जना संक्रमित भेटिएका छन् ।

जसमा सबैभन्दा धेरै लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिएका छन् । लमजुङमा भेटिएको संक्रमितको यो संख्या हालसम्मकै धेरै हो ।

यीमध्ये एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना हुन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं ११ स्थित साइ अर्चना अस्पतालमा कार्यरत एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

कास्कीको मादी गाउँपालिकामा भेटिएका अर्का एक जना भने हालै दुबईबाट नेपाल फर्किएका थिए । कास्कीमा भेटिएका दुवै जना पुरुष हुन् ।

यसैगरी नवलपरासी पूर्वमा पनि एक जना ४० वर्षकी महिलामा पनि कोरोना भाइरस पुष्टि भएको डा। शर्माले बताए ।

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको छ । अहिलेसम्म १ हजार ६ सय ४३ जनालाई निको भएको छ ।

प्रकाशित : २०७७ भदौ १० गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI