महामारीको मर्कामा स्रोह्र श्राद्ध, यजमान अलमलमा, विज्ञ चिन्तित

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते ९:००
महामारीको मर्कामा स्रोह्र श्राद्ध, यजमान अलमलमा, विज्ञ चिन्तित

काठमाडौं, ११ भदाै । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने ? यजमानहरू अलमलमा परेका छन्।

यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल (अनलाइन) श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’

वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अब ? कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ। तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्। उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ। ‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराई ‘अन्तिम विकल्प’का रूपमा भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न सकिने बताउँछन्। ‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, दिन पर्खेर बसेका हुन्छन्। त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष डा. भट्टराई भन्छन्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’ त्यसकारण कोरोनाका कारण अरू विकल्प नभए वैज्ञानिक प्रविधिले दिएको सुविधा प्रयोग गरेरै भए पनि श्राद्ध गर्नुपर्नेमा उनको जोड छ।

धार्मिक परिषद् नेपालका सचिव केशवप्रसाद चौलागाईंका अनुसार कोरोनाका कारण घरघर पुगेर सोह्र श्राद्ध गर्नुभन्दा प्रविधिको प्रयोग गरी कार्यसिद्धि गर्नु उपयुक्त हुन्छ। ‘इन्टरनेट भएपछि घण्टौं बोले वा भिडियो कल गरे पनि सहजै छ’, उनी भन्छन्, ‘पुरोहितसँगको भिडियो कन्फरेन्स गरेर सिक्दै श्राद्ध गर्न सकिन्छ, संस्कार पनि बच्छ।’

पञ्चांग निर्णायक समिति नेपालका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम भने शास्त्रहरूमा धेरै विकल्प दिए पनि प्रविधिको प्रयोग गरेर पुरोहित टाढै बसेर श्राद्ध गर्ने अनुमति नदिएको बताउँछन्। ‘हुन त अमेरिकामा बस्नेहरूले सुत्केरी आदि हुँदा नेपालबाटै ब्राह्मणले काम चलाएका छन्’, उनी भन्छन्, ‘तर, यो चाहिँ लोकका आँखामा छारो हालेजस्तै हो। हरेक कर्मकाण्डमा पुरोहित सामुन्ने भएर गर्नु सबैभन्दा उत्तम कार्य हो।’

उनका अनुसार सोह्र श्राद्धको यो समयमा अर्थात् भदौभरि सिंह राशिमा सूर्य रहन्छन्। असोज पुरुषोत्तम मास छ, शास्त्रअनुसार श्राद्ध गर्नु हुँदैन। ‘त्यसैले शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ’, उनी भन्छन्, ‘त्यो बेला पनि समय असहज भए तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघि गर्न मिल्छ।’

वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराई प्रविधिको प्रयोग गर्न सकिए पनि ब्राह्मण हुँदा जति उत्तम नहुने धारणा राख्छन्। ‘प्रविधिले सजिलो बनाएकाले धार्मिक कार्यको निर्देशनचाहिँ हुन सक्छ’, उनी भन्छन्, ‘तर, कर्म भएको ठाउँमा यहाँको निर्देशन बुझी कर्म गराउन सक्ने अर्काे ब्राह्मणको उपस्थिति भने अनिवार्य नै देखिन्छ।’

उनका अनुसार श्राद्धादि कर्म सम्पादन गर्ने कर्ताका अगाडि विश्वेदेव र पित्रादि ब्राह्मणको सन्निधि—१, मन्त्रोच्चारण र अभिषेकादि गर्न सक्ने ब्राह्मणको उपस्थिति—२ र कर्मसाक्षित्व वहन गर्ने अग्निरूप देवताको सान्निध्य—३ गरी यी तीनको कार्यसंयोगबाट मात्र परमापूर्व (पुण्य) उत्पन्न हुन्छ। यजमानले दिएको पदार्थ पितृ आदि देवताहरूले प्राप्त गर्ने एवं गरेको कार्य पूर्ण हुने हुँदा भर्चुअल माध्यमबाट यी सबैको पूर्ति नहुने उनको भनाइ छ। गाेपीकृष्ण ढुंगानाले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित : २०७७ भदौ ११ गते ९:००
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI