नक्कली सगरमाथा आरोहीलाई प्रतिष्ठित पुरस्कार

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते ९:१७
नक्कली सगरमाथा आरोहीलाई प्रतिष्ठित पुरस्कार

नयाँदिल्ली, १२ भदाै । भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ । हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो ।

नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् । यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।

भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ ।

त्यस्तो माग पर्नेमा पर्छन् भारतका चर्चित पर्वतारोही कुन्टल जोयसर । सगरमाथालगायत विश्वका २ दर्जनभन्दा बढी शिखरको आरोहण गरिसकेका जोयसरले प्रमाणपत्र नक्कली र सक्कली यकिन गर्ने आफ्नो काम नभए पनि विवादास्पद विषय टुंगोमा नपुगी पुरस्कार दिनु आश्चर्यजनक भएको बताए । ‘पुरस्कारबारे सुन्नासाथ म त स्तब्ध भएँ, कसरी यति ठूलो पुरस्कार यस्तो व्यक्तिलाई दिने निर्णय गरियो ?, कम्तीमा छानबिन गरेर टुंगोमा पुगेपछि गरेको भए हुने हो,’ उनले भने ।

उनले नरेन्द्रको पृष्ठभूमि र मिडियामा आएका सूचनाहरूलाई हेर्दा उनले सगरमाथा चढेको विश्वास गर्ने आधारहरू नभएको जिकिर गरे । ‘टिम लिडरदेखि उद्धार गर्नेसम्मले होइन भनेका छन्, त्यसमाथि उनले त्यसअघि कुनै ठूला हिमाल चढेको प्रमाण पछि छैन,’ जोयसरले भने । नरेन्द्रलाई पुरस्कार दिने खबर सार्वजनिक भएपछि उनको आरोहणमाथि नै प्रश्न उठाउँदै भारतीय अंग्रेजी दैनिक मिड–डेले बिहीबारको संस्करणमा खोजमूलक समाचार प्रकाशित गरेको छ ।

लामो समयदेखि पर्वतारोहण क्षेत्रमा कलम चलाउँदै आएकी पत्रकार अनुशा सुब्रमन्यमको खोज समाचारमा नरेन्द्रको आरोहणको दाबीलाई तथ्यसहित गलत दाबी गरिएको छ । हरियाणाका नरेन्द्रले २०१६ मे २० मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । तर, उनकै आरोहण दलका नेता नवकुमार फुकोनले नरेन्द्रले आरोहण गर्न असफल भएपछि बीचबाटोबाटै उद्धार गरिएको खुलासा गरेका छन् । सुरेशराज न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित : २०७७ भदौ १२ गते ९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI