भक्तपुरमा एक संक्रमितको होम आइसोलेसनमै मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १४ गते १०:१०
भक्तपुरमा एक संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर, १४ भदौं । कोरोनाको लक्षण नदेखिएकालाई सरकारले अस्पताल भर्ना नलिने रणनीति लागू गरिरहेका बेला भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

उच्च रक्तचाप, मधुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको उनले जानकारी दिएका छन् ।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको खत्रीले बताएका छन् । मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको जनाएको छ ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताएका छन् । योसँगै भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।

प्रकाशित : २०७७ भदौ १४ गते १०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI