चार्टरभन्दा नियमित उडान भाडा महँगो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते ९:५०
चार्टरभन्दा नियमित उडान भाडा महँगो

काठमाडौं, भदौ १५ । नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।

नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपूर्तिका आधारमा तय हुने भएकाले विदेशमा अलपत्र नेपालीले स्वदेश फर्कन चर्को मूल्य चुकाउनुपर्नेछ। कोरोनाका कारण विदेशमा अलपत्र नेपालीले अब चार्टर उडानभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिनुपर्नेछ।

हवाई यात्राका लागि टिकेटिङ गर्ने प्रणाली जिडिएस ९ग्लोबल डिस्ट्रिब्युसन सिस्टम० मा चार्टरभन्दा पनि नियमित उडान भाडा महँगो भएको देखिन्छ। सरकारले यसअघिका उद्धार उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मनलाग्दी भाडा असुलेको भन्दै विरोध भएको थियो।

विरोध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडानतर्फको टिकटको मूल्य पाँच हजारदेखि नौ हजार रूपैयाँसम्म घटाइएको थियो। तर अब नियमित उडानमार्फत अलपत्र नेपाली ल्याउन विमान कम्पनीहरूले महँगोमा टिकट बेच्न थालेका छन्।

चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म महँगो भएपछि विदेशमा रोजगारी गुमाएका, आममाफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै समस्या पर्ने देखिएको छ।

बुधबारदेखि दिनमा दुईवटा नियमितसहित एक उद्धार उडानबाट पाँच सयजना नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वजनिक भएको छ। सरकारले अहिले आएर नियमित उडान खोल्नुभन्दा नेपालमा रहेका विदेशी लैजान आएका चार्टर विमानबाट नेपालीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञहरूको धारणा छ। उद्धार उडान व्यवस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ।

हाल तय भएको टिकट शुल्कमा पुनर्विचार गर्न विमान कम्पनी तथा ट्राभल एजेन्सीहरूसँग छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताए।

‘चार्टर उडानतर्फको टिकटको शुल्क सरकारले तोके पनि नियमिततर्फको भाडा कायम गराउन विमान कम्पनीहरूको मुख्य भूमिका हुने भएकाले एकाधिकारका रूपमा भाडा तय गरेको देखिन्छ,’ मन्त्री भट्टराईले नागरिकसँग भने, ‘सीमित उडान भएको र टिकटको वर्गीकरणअनुसार भाडा तय भएको देखिएकाले के कारणले महँगो भयो भन्नेबारे सरकारले ध्यानाकर्षण गराएको छ।’

चार्टर उडानप्रति आएको जनगुनासोका कारण सरकार सीमित भए पनि नियमित उडान खोल्न बाध्य भएको उनले बताए। ‘हाल अन्य देशमा समेत ७० प्रतिशतसम्म उडान ग्राउन्डेड अवस्थामा छन्। तर, महामारीको समयमा व्यापारभन्दा सेवालाई समेत ध्यानमा राखी भाडा समायोजन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत ध्यानाकर्षण गराइसकेका छौं। मन्त्रालयस्तरमा समेत भाडादरबारे छलफल सुरु भइसकेको छ,’ मन्त्री भट्टराईले भने।

कोरोनाका कारण विदेशमा अलपत्र नेपालीले अब चार्टर उडानभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिर्नुपर्नेछ।

हाल तय भएको भाडाअनुसार खाडी मुलुक, मलेसिया, जापान, कोरिया, अमेरिका र युरोपेली मुलुकबाट फर्कने नेपालीले महँगो टिकट शुल्क तिर्नुपर्नेछ। नियमित उडान अनुमति पाएकामा स्वदेशीभन्दा विदेशी विमान कम्पनी धेरै छन्। महँगो भाडा तय गर्नेमा एयर अरेबिया, फ्लाई दुबई, मालिन्दो एयर, कोरियन एयर, इतिहाद, मलेसिया एयर र क्याथे ड्र्यागन अघि छन्।

स्वदेशतर्फका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो शुल्क तय गरेको सिस्टममा उल्लेख छ।नागरिक दैनिकबाट

प्रकाशित : २०७७ भदौ १५ गते ९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI