भरतपुर सेन्ट्रल अस्पतालका ५ स्वास्थ्यकर्मीले कोरोना जिते

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १४:३९
भरतपुर सेन्ट्रल अस्पतालका ५ स्वास्थ्यकर्मीले कोरोना जिते

भरतपुर, १६ भदौ
भरतपुर सेन्ट्रल अस्पतालका ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले कोरोना जितेका छन् । गत साउन ३२ गते कोरोना पुष्टि भएका ३ नर्ससहित ५ जनालाई कोरोना नेगेटिभ देखिएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अस्पतालको छुट्टाछुट्टै क्याबिनमा आइसोलेसन गरी राखिएका उनीहरुलाई १४ दिनसम्म आवश्यक उपचार र स्वास्थ्य अवस्थाको निगरानी गरी पुनः पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले जानकारी दिए ।

उनीहरुमध्ये ३ जनामा साधारण लक्षण देखिएको थियो भने बाँकी २ जनामा भने कुनै लक्षण नदेखिएको डा. सिंहले जानकारी गराए । “भदौ १४ गते उहाँहरुको पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ आयो”, उनले भने, “त्यसपछि आज डिस्चार्ज गरिएको हो ।” उनीहरुलाई एक हप्तासम्म घरकै क्वारेन्टिनमा बस्न र आराम गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

अस्पतालले डिस्चार्ज गर्दा नै घरको क्वारेन्टिन बस्दा आवश्यक पर्ने सुरक्षा सामग्रीहरु मास्क, स्यानिटाइजर तथा दैनिक आवश्यक वस्तुहरू उपलब्ध गराएको छ । अहिलेको परिस्थितिमा कसैले पनि स्वास्थ्यकर्मीलगायत हरेक व्यक्तिलाई केही भेट, उपहार वा सम्मान गर्नुपरेमा यस्ता वस्तुहरू नै दिँदा बढी उपयोगी हुने उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल विक्रम कार्कीले अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीलाई संक्रमण हुनसक्ने सम्भावना उच्च हुनु स्वाभाविक भएकोले यस्तो बेलामा कोही पनि नआत्तिई उपचारमा संलग्न हुन र स्वास्थ्यकर्मीलाई हौसला बढाउनुपर्ने बताए ।

संक्रमितहरुको उपचारमा भएको सबै खर्च अस्पतालले व्यहोर्ने जानकारी अस्पतालका कार्यकारी निर्देशक शोभाकर घिमिरेले दिए ।

भरतपुर सेन्ट्रल अस्पताल आइसोलेसनमा अहिले पनि एकजना कोरोना शंकास्पद विरामीको उपचार भइरहेको छ । अस्पतालले यसअघि जटिल स्वास्थ्य समस्या भएका भरतपुरका ५३ वर्षीय संक्रमितको पनि सफल उपचार गरिसकेको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते १४:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI