लकडाउन र निषेधाज्ञामा बढ्यो सामाजिक सञ्‍जालको प्रयोग, इन्टरनेट गति सुस्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २१ गते १२:३०
लकडाउन र निषेधाज्ञामा बढ्यो सामाजिक सञ्‍जालको प्रयोग, इन्टरनेट गति सुस्त

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञामा इन्टरनेटको प्रयोग बढेको सेवा प्रदायक कम्पनीहरूले बताएका छन्।

 

लकडाउन र निषेधाज्ञामा मानिसहरू घरमा बसेर सामाजिक सञ्जालको प्रयोग बढाउँदा इन्टरनेटको प्रयोग बढेको हो। विशेषगरी टिकटक, फेसबुक र यूट्युवका प्रयोगकर्ताको संख्या र इन्टरनेट प्रयोगको अवधि पनि बढेको छ।

 

प्रयोगकर्ताको मागअनुसारको इन्टरनेट पुर्‍याउन गार्‍हो परेको सुविसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले बताए। भने, “लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै वस्नुपर्दा उनीहरूले इन्टरनेटमा बिताउने समय बढ्दा स्पिडमा समस्या आएको छ।”

 

लकडाउनपछि सुविसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए। लकडाउनअघि एकजना ग्राहकबाट महीनाभरमा झण्डै ३०० जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो।

 

तर, अहिले ५०० देखि ६०० जीबीपीएस खपत भइरहेको बताउँदै उनले भने, “लकडाउनमा गूगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशत र टिकटकको प्रयोगकर्ता ७५ प्रतिशतभन्दा धेरैले बढेका छन्।”

 

तर, मनोरञ्जनको लागि चलाइने एप वा सर्भर एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने सेवा प्रदायक कम्पनीहररुको भनाइ छ।

 

त्यस्तै, भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले इन्टरनेट सेवा प्रदायकहरूलाई यो अवधिमा इन्टरनेट आपूर्तिमा समस्या परेको बताए।

 

“इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ। हाम्रा उपकरण बिग्रिरहन्छन्”, उनले भने, “यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ। भनेको बेलामा जनशक्ति पाइँदैन।”

प्रकाशित : २०७७ भदौ २१ गते १२:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI